काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कारागारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बसाइको अवस्था खराब रहेको बताएको छ ।
कारागारमा रविको सुविधा र बसाइको व्यवस्थापन उचित नभएको खबर बाहिरिएपछि आज अनुगमनका लागि रुपन्देही कारागार पुगेको टोलीले रविको अवस्था ठीक नभएको बताएको हो ।
आयोगका प्रवक्ता डा. लिली थापाले लामिछानेलाई छुट्टै कोठामा राखिए पनि झ्यालमा प्लाइउड ठोकिएको र पर्याप्त उज्यालो र हावा नभएको पाइएको बताइन् । उनले सुरक्षाका कारणले झ्याल थुनिएको भन्ने जवाफ पाएको पनि बताइन् । अनुगमनपछि कारागार प्रशासनलाई झ्यालमा ठोकिएको काठ निकाल्न निर्देशन दिएको पनि प्रवक्ता थापाले बताइन् ।
थापाका अनुसार रवि बसेको कोठमा झ्याल बन्द गरिएका कारण राम्रोसँग हावा आवतजावतसमेत भएको छैन ।
उनले अदालतले स्थानान्तरणका लागि आदेश दिए पनि स्थानान्तरण नगरिएको अवस्था पाइएको बताइन् । ‘२५० जना क्षमताको जिल्ला कारागारमा ६५० जना राखिएको रहेछ । अरु बन्दीहरूको पनि हालत उस्तै रहेछ ।’
त्यस्तै, उनलाई पत्रपत्रिका पढ्नसमेत रोक लगाएको पाइएको छ ।
सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेलाई भेटेर फर्किएकाहरूले कारागारमा उनलाई ‘अमानवीय’ व्यवहार गरेको बताउँदै आएका थिए । यसबारे विभिन्न खालका समाचारहरू आउन थालेपछि विभिन्न पार्टी तथा नेताहरूले आपत्ति जनाउँदै आएका थिए ।
यद्यपि, केही दिनअघि रुपन्देही कारागारले उनलाई सबै सुविधा प्रदान गरेको दाबी गरेको थियो ।


प्रतिक्रिया