धेरै बंगलादेशी क्रिकेटर नयाँ फिटनेस परीक्षणमा मापदण्ड पूरा गर्न असफल

धेरै बंगलादेशी क्रिकेटर नयाँ फिटनेस परीक्षणमा मापदण्ड पूरा गर्न असफल



काठमाडौं । धेरै बंगलादेशी क्रिकेटरहरू नयाँ फिटनेस परीक्षणमा मापदण्ड पूरा गर्न असफल भएका छन् । राष्ट्रिय रङ्गशालामा भएको १ हजार ६ सय मिटर दौडमा धेरै क्रिकेटरहरू मापदण्ड पूरा गर्न असफल भएका क्रिकेटसम्बन्धी जानकारी दिने बेवसाइट क्रिकबजले जनाएको छ ।

पहिले खेलाडीहरूको फिटनेस यो–यो वा बीप परीक्षणद्वारा निगरानी गरिन्थ्यो । यद्यपि नयाँ स्ट्रेन्थ र कन्डिसनिङ प्रशिक्षक नाथन केलीको आगमनपछि टोली व्यवस्थापनले खेलाडीहरूको फिटनेस परीक्षण गर्न १ हजार ६ सय मिटर दौड र ४० मिटर स्प्रिन्टलाई रोजेको छ ।

तीव्र गतिका बलर मुस्ताफिजुर रहमान, तस्किन अहमद, तन्भीर इस्लाम र शमीम पटवारीले १ हजार ६ सय मिटर दौड पूरा गर्न झन्डै ८ मिनेट लगाएका खबरमा उल्लेख छ । फिटनेस परीक्षणमा भाग लिने २२ क्रिकेटरहरूमध्ये नाहिद राणाले भने १ हजार ६ सय मिटर दौड मात्र ५ मिनेट ३१ सेकेन्डमा पूरा गरेका छन् ।

घरेलु मैदानमा नेदरल्यान्ड्ससँगको आउँदो तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला र त्यसपछि संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने एशिया कपका लागि अहिले फिटनेस शिविर चलिरहेको हो ।