काठमाडौं । सरकारले भारतमा भएको म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन)मा बेन्टामवेट च्याम्पियन रवीन्द्र ढाँटलाई पाँच लाख रुपैयाँ दिने भएको छ । उनका प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिइने प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।
“रवीन्द्र ढाँटलाई अस्ति बसेको मन्त्रिपरिषद्को बैठकले प्रोत्साहनस्वरूप पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ । यस्तै, उहाँका प्रशिक्षकलाई दुई लाख रुपैयाँ दिने पनि निर्णय भएको छ,” आज प्रधानमन्त्री ओलीले फेसबुकमार्फ जानकारी दिएका छन् ।
यसअघि, मंगलबार काठमाडौं महानगरले ढाँटलाई दुईलाख नगदसहित सम्मान गरेको थियो ।
गत साउन १७ गते भारतको नोएडामा भएको फाइनलमा त्यहाँका नम्बर वान चेग्रोन कोरेनलाई नकआउट गर्दै उनी च्याम्पियन बनेका थिए । उनले कोरेनलाई तेस्रो राउन्डमा नकआउट गरेका थिए ।
रवीन्द्रले ‘लक एन्ड रोल’ एमएमए नेपाल टिमबाट प्रतियोगितामा सहभागिता जनाएका थिए । उनी एसिया प्रशान्त क्षेत्रमा २२८ स्थानमा रहेका एमएमए फाइटर हुन् । एसिया प्रशान्त उपक्षेत्रको पनि वरीयताभित्र समावेश छन् ।


प्रतिक्रिया