काठमाडौं । टप एन्ड टी–२० शृङ्खला खेल्न अस्ट्रेलिया पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले थप ५ वटा अभ्यास खेल खेल्ने भएको छ । टप एन्ड टी–२० शृङ्खलापछि नेपालले स्थानीय क्लबसँग ५ वटा अभ्यास खेल खेल्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।
नेपालले क्रिकेट एसीटी र साउथ अस्ट्रेलिया टिमसँग ४ टी–२० र १ एकदिवसीय क्रिकेट खेल्ने भएको हो । यी अभ्यास खेल अगस्ट २६ देखि ३० सम्म हुनेछ ।
नेपालले अगस्ट २६ मा एकैदिन क्रिकेट एसीटीसँग २ वटा टी–२० खेल्नेछ । यस्तै नेपालले अगस्ट २८ मा पनि एकैदिन साउथ अस्ट्रेलियासँग २ वटा टी–२० खेल्नेछ । यसैगरी नेपालले अगस्ट ३० मा साउथ अस्ट्रेलियासँग एकदिवसीय क्रिकेट खेल्नेछ ।
यसैबीच टप एन्ड टी–२० शृङ्खला आजदेखि शुरू हुँदैछ ।
नेपालले यस प्रतियोगितामा भोलि (शुक्रबार) नर्दन टेरिटोरीसँग खेल्दैछ । त्यसपछि नेपालले अगस्ट १६ मा बंगलादेश ‘ए’सँग, अगस्ट १८ मा मेलबर्न स्टार्ससँग, अगस्ट १९ मा होबर्ट हुरिकेन्ससँग, अगस्ट २० मा मेलबर्न रेनेगार्ड्ससँग र अगस्ट २२ मा पाकिस्तान साहिन्ससँग खेल्ने तालिका छ । पाकिस्तानी साहिन्स पाकिस्तानको ‘ए’ टोली हो ।


प्रतिक्रिया