बाबर र रिजवानलाई बाहिरै राखेर एशिया कपका लागि पाकिस्तानी टोली घाेषणा

बाबर र रिजवानलाई बाहिरै राखेर एशिया कपका लागि पाकिस्तानी टोली घाेषणा



काठमाडौं । एशिया कप टी–२० क्रिकेटका लागि पाकिस्तानको टोली घोषणा भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने प्रतियोगिताका लागि पाकिस्तानले आज १७ सदस्यीय टोली घोषणा गरेको हो ।

पाकिस्तानको टोलीमा स्टार खेलाडीहरू बाबर आजम र मोहम्मद रिजवान परेका छैनन् । बाबरले पछिल्लो पटक सन् २०२४ डिसेम्बर मा टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका थिए । यस्तै बाबरले वेस्ट इन्डिजसँगको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा ४७, शून्य र नौ रनमा आउट भएका थिए ।

बाबरजस्तै रिजवान पनि बङ्गलादेशसँगको घरेलु र त्यसपछिको बाहिरी शृङ्खला र त्यसपछि वेस्ट इन्डिजमा भएको टी–२० शृङ्खलाका लागि पाकिस्तानको पछिल्लो टी–२० टोलीको हिस्सा भएका छैनन् ।

उनले वेस्ट इन्डिजसँगको एकदिवसीय शृङ्खलाको पहिलो खेलमा ५३ रन बनाएका थिए, त्यसपछि १६ र शून्य रनमा आउट भएका थिए ।

वेस्ट इन्डिजसँगको शृङ्खलामा ह्यामस्ट्रिङ चोटबाट पीडित भएका फखर जमान निको भएर टोलीमा फर्किएका छन् । टोलीको कप्तानमा सलमान आघा छन् । यो टोलीले एशिया कपअघि यूएई र अफगानिस्तानसँग त्रिदेशीय शृङ्खला पनि खेल्नेछ ।