विराटनगर । नेपाली क्रिकेट टोलीका बलर ललित राजवंशीले जनता आवास कार्यक्रम अन्तर्गत दिने भनिएको घर नलिने बताएका छन्।
सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू परिवार बस्न सक्ने घर बनाउन सक्षम भएको भन्दै सरकारले उक्त घर वास्तविक रूपमा विपन्नलाई उपलब्ध गराउन आग्रह गरे। “म यसैपालि घर बनाउन योजनामा थिए, तर आमाको निधनका कारण बन्न सकेन,” राजवंशीले भने।
उनले सरकारले सहानुभूति देखाएर सहयोग गर्ने हो भने स्वीकार गर्ने तर आफ्नै नाममा आएको घर भने नलिने स्पष्ट पारे। राजवंशीका परिवारसँग विराटनगरमा करिब एक विगाह जग्गा छ।
हालै उनकी आमा शुभकुमारी राजवंशीको निधनपछि श्रद्धाञ्जली दिन पुगेका प्रदेशसभा सदस्य अमृत अर्यालले जनता आवास कार्यक्रममार्फत राजवंशीलाई घर बनाइदिने घोषणा गरेका थिए। तर राजवंशीले यो सहयोगलाई विपन्न परिवारलाई दिनुपर्ने बताएपछि उनको निर्णयको प्रशंसा भएको छ।


प्रतिक्रिया