२–० पछि पनि बार्सिलोनाको अविश्वसनीय पुनरागमन

२–० पछि पनि बार्सिलोनाको अविश्वसनीय पुनरागमन



काठमाडौं । बार्सिलोनाले स्पेनिस लिगमा लेभान्टेमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ। पहिलो हाफमा २–० ले पछि परेको बार्सिलोनाले दोस्रो हाफमा पेड्री र फेरेन टोरेसका गोलमार्फत बराबरी गर्‍यो। अन्त्यतिर लामिन यमलको क्रस रोक्ने क्रममा लेभान्टेका उनाई एल्गेजाबालले आत्मघाती गोल गर्न पुग्दा बार्सिलोनाले जित सुनिश्चित गर्‍यो।

यसअघि लेभान्टेले इभान रोमेरो र मोरालेसको पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो। तर, प्रशिक्षक हान्सी फ्लिकले पेड्रीको गोललाई खेलको टर्निङ पोइन्ट भनेका छन्।

यस खेलमा मार्कस र्यासफोर्डले पहिलोपटक लिग खेलको सुरुआत गरे पनि हाफटाइममा प्रतिस्थापित भए। त्यस्तै, चोटबाट फर्किएका रोबर्ट लेवान्डोस्कीले दोस्रो हाफमा मैदान प्रवेश गर्दै यस सिजन पहिलो मिनेट खेले।

बार्सिलोनाले यसअघि मल्लोर्कामाथि ३–० को जित निकालेको थियो। लगातार दुई जितपछि बार्सिलोना शीर्ष स्थानको दौडमा रहेको छ।