काठमाडौं । बिहीबार बिहान सम्पन्न लिग्स कप सेमिफाइनलमा इण्टर मियामीले ओरल्यान्डो सिटीलाई ३–१ ले हराउँदै फाइनलमा प्रवेश गरेको छ।
फोर्ट लडरडेलस्थित चेस स्टेडियममा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा मार्को पासालिचले गोल गर्दै ओरल्यान्डोलाई अग्रता दिलाए।
७७औं मिनेटमा ओरल्यान्डोका डेभिड ब्रेकालो दोस्रो पहेँलो कार्ड पाएपछि मैदान छाड्नुपर्यो र सोही क्रममा मियामीले पेनाल्टी पायो। लियोनेल मेस्सीले पेनाल्टी सफल बनाएर खेल १–१ मा बराबरी गरे।
८८औं मिनेटमा जोर्डी आल्बासँगको उत्कृष्ट पासमा मेस्सीले नै दोस्रो गोल गर्दै मियामीलाई अग्रता दिलाए। त्यसपछि इन्जुरी समयमा टेलास्को सेगोभियाले थप गोल गरेपछि मियामी ३–१ ले विजयी भयो।
यस जितसँगै इण्टर मियामी फाइनल मात्र होइन, २०२६ को कन्काकाफ च्याम्पियन्स कपमा पनि छनोट भएको छ। मेस्सी र सर्जियो बुस्केट्सले खेलमा पहेँलो कार्ड पाए।
अब मियामीले अगस्ट ३१ मा हुने फाइनलमा एलए ग्यालेक्सी र सिएटल साउन्डर्सबीचको विजेतासँग खेल्नेछ। ओरल्यान्डो सिटी भने तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ।


प्रतिक्रिया