साउथ अस्ट्रेलियाविरूद्धको दुवै अभ्यास खेलमा नेपालको हार

साउथ अस्ट्रेलियाविरूद्धको दुवै अभ्यास खेलमा नेपालको हार



काठमाडौं । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार खेलिएका दुई वटा टी-२० अभ्यास खेलमा पराजित भएकाे छ । नेपाललाई साउथ अस्ट्रेलियाले दुई अभ्यास खेलमा पराजित गरेको हो ।

बिहीबार विहान भएको पहिलो अभ्यासमा पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १४६ रन जोड्यो। नेपालका लागि भीम सार्कीले ३२ रन, दीपेन्द्रसिंह ऐरीले २६ रन, आसिफ शेखले २२ रन र आरिफ शेखले २१ बनाए। बलिङमा साउथ अस्ट्रेलियाका चामबेल थमसन, थोमस ब्राउन र ह्यारी मनेन्टीले २-२ विकेट लिए ।

१४७ रनको लक्ष्य साउथ अस्ट्रेलियाले ७ विकेटको क्षतिमा पूरा गर्दै ३ विकेटको जित निकाल्यो। साउथ अस्ट्रेलियाका लागि जेक विन्टरले सबैभन्दब ढी ३६ रन बनाए। बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट र नन्दन यादवले २ विकेट लिन सफल भए ।

दोस्रो अभ्यास खेलमा नेपाल ३ रनले पराजित भयो । पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले १६० रन जोड्यो । उसका लागि रायन किंगले ३४ रन बनाए भने ड्यानियल ड्र्यु र ह्यारी मनेन्टीले २९ रन बनाए । बलिङमा नेपालका करण केसीले ३ विकेट लिए भने शाहब अलामले २ विकेट हात पारे ।

१६१ रनको लक्ष्य पछ्याएको नेपाल १५७ रन रन मात्र बनाउन सक्यो । नेपालका लागि रुपेश सिंहले १९ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३७ रन बनाए भने भीम सार्कीले २९ रनको योगदान गरे। बलिङमा थमसनले ४ विकेट लिए ।

नेपालले मंगलबार एसिटी अस्ट्रेलियाविरूद्धको दुवै अभ्यास खेलमा जित निकालेको थियो ।

यसअघि टप एन्ड सिरिज खेलेको नेपालले अब अभ्यास खेलमा ३० अगस्टमा साउथ अस्ट्रेलियासँग नै एकदिवसीय खेल खेल्नेछ ।

नेपालले अस्ट्रेलियामा सिरिज खेलेपछि सेप्टेम्बरमा युएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्दैछ ।