काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक म्याट रोसले किरण चेम्जोङको कप्तानीमा २ खेलको मैत्रीपूर्ण फुटबलका लागि आज २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
नेपालले बंगलादेशसँग घरेलु मैदान दशरथ रंगशालामा यही भदौ २१ र २४ गते मैत्रीपूर्ण फुटबल खेल्दैछ । दुवै खेल फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत हुने लागेको हो । फिफा वरीयतामा नेपाल १७६औं र बङ्गलादेश १८४औं स्थानमा छन् ।
यो मैत्रीपूर्ण फुटबल नेपालका लागि एएफसी एशियाली कप छनोटको तयारीका लागि महत्त्वपूर्ण हुनेछ । एशियाली कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ । यो समूहमा नेपालसँगै मलेशिया, लाओस र भियतनाम छन् ।
नेपालले अहिलेसम्म २ खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ । एशियाली छनोटमा नेपालले आउँदो अक्टोबर ९ मा भियतनामसँग उसैको मैदानमा खेल्ने तालिका छ ।
नेपालको टोली : किरण चेम्जोङ (कप्तान), मणि लामा, मनिष डाँगी, अभिषेक लिम्बु, आदित्य शाक्य, अमित लामा, रनदिप पौडेल, अनन्त तामाङ, अन्जन विष्ट, रोहन कार्की, रोहित चन्द, एरिक बिस्ट, समीर तामाङ, दीप कार्की, दिनेश हेन्जन, जिलेस्पी जंग कार्की, कुशल देउवा, सिर्जन राज, सुवास ठकुरी बम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा, योगेश गुरुङ, लेकेन लिम्बु


प्रतिक्रिया