रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : प्रचण्ड

रुपन्देहीमा राम्रो नतिजा ल्याउँछौं, एक्लै लड्ने तयारी गर्नुहोस् : प्रचण्ड



बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुपन्देहीमा एक्लै चुनाव लड्ने र त्यसमा राम्रो नतिजा ल्याउने बताएका छन् ।

बुटवलको बेलबासमा पार्टीको लुम्बिनी प्रदेशको सातौं पूर्ण बैठक बैठकलाई सम्बोधन गर्दै प्रचण्डले रुपन्देहीमा एक्लै चुनाव लड्ने तयारी थाल्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

‘पछिल्लो समय म विभिन्न कार्यक्रममा बाहिर जाँदा कांग्रेस-एमालेका नेताहरूले मलाई भेट्दा यो परिवर्तन माओवादीले ल्याएको हो । त्यसको रक्षा पनि माओवादीले नै गर्नुपर्छ भन्नुभएको छ । मैले यो कुरा मलाई किन भन्नुहुन्छ ? यो जनतालाई भन्नुहोस् न भन्ने गरेको छु । त्यसैले कमरेडहरू माओवादीले यो परिवर्तनको आन्दोलनमा खेलेको भुमिका कसैले नकार्न सक्दैन । बाहिर प्रचारप्रसार त हामीले गर्नुपर्‍यो नि, रुपन्देहीमा हामीले पहिलाभन्दा राम्रो परिणाम ल्याउँछौं, ल्याउँछौं । एक्लै लड्ने हो, तपाईंहरू त्यसको तयारी गर्नुहोस्,’ उनले भने ।

प्रचण्डले पार्टीभित्र देखिएको असन्तुष्टि र बहसलाई वर्गसंघर्षको स्वाभाविक स्वरूप भएको बताए । उनले ऐतिहासिक दृष्टान्त दिँदै भने, ‘असन्तुष्टि जहाँ गयो त्यही हुन्छ, विश्वको क्रान्तिकारी आन्दोलनमा पनि यस्तै देखिन्छ ।’