नेपाल ‘ए’ले जित्यो आसामसँगको टी-२० शृंखला

नेपाल ‘ए’ले जित्यो आसामसँगको टी-२० शृंखला



काठमाडौं । भारतको आसामविरुद्ध ५ खेलको टी–२० सिरिज नेपाल ‘ए’ टिमले जितेको छ ।

भारतको गुवाहाटीमा भएको पाचौं तथा अन्तिम खेलमा आसामलाई ४४ रनले पराजित गर्दे नेपाल ‘ए’ टिमले सिरिज आफ्नो पक्षमा पारेको हो ।

अन्तिम तथा निर्णायक खेलमा नेपालले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्रै बनाउन सक्यो ।

आसामका लागि भार्गव लहकरले सर्वाधिक अविजित २९ तथा साहिल जेन र कप्तान सुमित घडिअन्करले समान २५ रन बनाए । सौरभ दिहिगाले १७ रन बनाए ।

बलिङमा नेपालका पवन सर्राफ, शेर मल्ल र आकाश चन्दले समान २ विकेट लिँदा बसिर अहमदले १ विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाउँदै आसामलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । आदिल अन्सारीले २५ रन, शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रनको योगदान दिए ।

आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले २-२ विकेट लिए ।

बिहीबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो ।

त्यस्ते तेस्रो खेलमा शनिबार ९ रनले नेपाल ए विजयी भएको थियो भने चौथो खेलमा आइतबार आसाम १८ रनले विजयी भएको थियो ।