निर्देशक सञ्जय लीला भन्सालीविरुद्ध एफआईआर दर्ता

निर्देशक सञ्जय लीला भन्सालीविरुद्ध एफआईआर दर्ता



मुम्बई । निर्देशक सञ्जय लीला भन्सालीको रणवीर कपूर, आलिया भट्ट र विक्की कौशल अभिनीत फिल्म ‘लभ एण्ड वार’ घोषणा भएदेखि नै चर्चामा छ । अब यस फिल्मसँग जोडिएको ठुलो विवाद बाहिर आएको छ ।

रिपोर्टअनुसार, राधा फिल्म्स एण्ड हस्पिटालिटीका सीईओ प्रतीक राज माथुरले भन्साली प्रोडक्सन हाउस र उनका प्रबन्धकहरूविरुद्ध ठगीको आरोपमा बीकानेरमा एफआईआर दर्ता गरेका छन् ।

एनडीटीभीको रिपोर्टअनुसार, प्रतीक राज माथुरको कम्पनी फिल्म निर्माण र लाइन प्रोडक्सन सेवा दिन्छ । उनका अनुसार, नोभेम्बर २०२४ मा भन्साली प्रोडक्सनका उत्कर्ष बालीले उनलाई सम्पर्क गरी ‘लभ एण्ड वार’ का लागि लाइन निर्माताको काम दिने प्रस्ताव गरेका थिए ।

उनलाई मुम्बई बोलाएर मौखिक सम्झौता गरिएको थियो र भनिएको थियो कि उनकी टोलीले राजस्थानमा सबै व्यवस्था गर्नुपर्नेछ । जब उनले लिखित सम्झौता मागे, पछि दिइने भनियो। उनले विश्वास गरेर आफ्नै खर्चमा तयारी सुरु गरे ।

तर अचानक एउटा मेलमार्फत भ्रमण रद्द गरिएको जानकारी दिइयो । केही दिनपछि उनलाई थाहा भयो कि भन्साली प्रोडक्सनले उनलाई जानकारी नदिई अरू लाइन निर्मातासँग राजस्थानमा छायाङ्कन गरिसकेको रहेछ ।

धम्की दिएको दाबी
प्रतीक राज माथुरका अनुसार, जब उनले भन्सालीलाई बीकानेरमा भेट्न खोजे, उनले राम्रोसँग कुरा गरेनन् । घाटाको कुरा उठाउँदा उनलाई धम्की दिइएको दाबी गरिएको छ ।

उत्कर्ष बालीले भनेका थिए, ‘तिमी हाम्रो पहिलो मुर्गा होइनौँ । हामीले तिमी जस्ता धेरै देखेका छौँ। धेरै बोल्यौ भने, म उद्योगमा यस्तो हालत बनाउँछु कि कसैले तिमीलाई काम दिनेछैन ।’

हालसम्म यस मामिलामा सञ्जय लीला भन्साली वा उनको प्रोडक्सन हाउसबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।