स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न रास्वपाद्वारा उपसमिति गठन

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न रास्वपाद्वारा उपसमिति गठन

महानगर र उपमहानगरमा आवेदन खुला


ग्लोब नेपाल
0
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न विभिन्न सात वटा उपसमिति गठन गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आज महामन्त्री एवं स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा भएको बैठकले’क्यान्डिडेट क्लब’मार्फत आवेदन खुला गर्ने निर्णय गरेको हो ।

बैठकले उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वयका लागि विभिन्न सात उपसमिति गठन गरेको छ ।

पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार क्यान्डिडेट क्लबको संयोजकमा कविन्द्र बुर्लाकोटी, प्रविधि उपसमितिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी, समावेशिता तथा महिला सहभागितामा डा तोशिमा कार्की र क्षमता विकास समन्वय उपसमितिमा टासी ल्हाजोमलाई संयोजनको जिम्मेवारी तोकिएको छ ।

बैठकले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदका लागि पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक तथा योग्य व्यक्तिहरूलाई लक्षित गर्दै आवेदन खुला गर्ने निर्णय गरेको छ।

उम्मेदवारी दिन चाहने आकांक्षीहरूले पार्टीको ‘क्यान्डिडेट क्लब’ मार्फत आफ्नो आवेदन पेस गर्न सक्नेछन्।