यस्ताे छ कर्ण थापाले प्रस्तुत गर्न नपाएको फरक मत (पूर्णपाठ)

यस्ताे छ कर्ण थापाले प्रस्तुत गर्न नपाएको फरक मत (पूर्णपाठ)



काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनमा नेता कर्ण थापाको फरक मतलाई प्रस्तुत गर्नबाट रोक लगाएको छ ।

ललितपुरको गोदावरीमा रहेको सनराईज हलमा दोस्रो दिन आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीको सदस्यता नदिएकोसहित आफ्नो फरक मत प्रस्तुत गर्न मञ्चतिर गएका नेता थापालाई अध्यक्ष ओलीले हलमा फरक मतको प्रस्ताव वितरण भइसकेकाले प्रस्तुत गर्न आवश्यक नभएको भनेपछि नेता थापाले फरक मत पेश गर्न नपाएका हुन् ।

सबै सदस्यलाई फरक मत वितरण भइसकेको र त्यसलाई समूहगत छलफलमा अध्यक्ष ओलीले लैजान भनेपछि नेता थापा फरक मत हलमा प्रस्तुत नगर्न सहमत हुनुभएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

फरक मत छलफल गर्नबाट वञ्चित नगरिएको खाली प्रस्तुत गर्न भने वितरण गरिसकिएकाले आवश्यक नभएको कुरा अध्यक्ष ओलीले नेता थापालाई सचेत गराएको नेता गौतमको भनाइ छ ।

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी सदस्यता नदिने पार्टीको निर्णयप्रति उपाध्यक्षद्वय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, नेता कर्ण थापाले फरक मत राख्दै आएका छन् ।

थापाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने, ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउनेलगायतको विषय समेटिएको ३२ पृष्ठ लामो फरक ३ दिनअघि च्यासलमा पेस गरेका थिए ।

उनले प्रस्तावमा भनिएको छ, ‘मैले हाम्रो पार्टीको प्रथम विधान महाधिवेशनदेखि हालसम्म पार्टीभित्र देखिएका मूलभूत समस्या र लिइएका निर्णय तथा ती निर्णयले पारेको र पार्न सक्ने असर तथा गर्नु पर्ने महत्त्वपूर्ण कार्यको बारेमा आफ्ना विचारहरू प्रस्तुत गरेको छु । नेपाली समाजका समस्याको समाधान गर्नसक्ने विचार जनताको बहुदलीय जनवाद हो । यो विचारलाई अगुवाइ गरी जनताको विश्वास प्राप्त गर्नसक्ने पार्टी हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) नै भएकोले यसलाई अझ बलियो, एकताबद्ध, सशक्ते बनाउनको लागि प्रस्तुत विचारले योगदान गर्न सक्नेछ भन्ने मेरो दृढ विश्वास रहेको छ ।’

‘जबजको विचारलाई दह्रो गरी फक्रौँ । व्यवहारमा यसको कार्यान्वयन गरौँ । यसको रक्षा र संवर्धनमा सबैले योगदान गरौँ । जबजको मार्गदर्शनमा नेपाली विशेषताको समाजवाद निर्माणको लागि अग्रसर होऔं! नेपाली समाजमा मार्क्सवाद–लेनिनवादको सिर्जनात्मक प्रयोग र जनताको बहुदलीय जनवादको कार्यान्वयन त्यसको पक्षमा दृढतापूर्वक उभिँदै पार्टीलाई निश्चित विधि, पद्धति, मूल्य–मान्यता र राष्ट्र र जनताको सर्वोपरी हितमा सञ्चालन गरेर मात्र हुनसक्छ भन्ने सच्चाइलाई सबैले आत्मसात गरौँ’, थापाको फरक मतमा उल्लेख छ ।