काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको संविधानको निरन्तरता हुनुपर्ने बताएका छन् । यही संविधानमा टेकेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
बिहीबार एक भिडिओ सन्देश सामाजिक सञ्जाल फेसबुकमा राख्दै थापाले भनेका छन्, ‘यो संविधानको निरन्तरताका बारेमा तपाईंहरूले ख्याल गर्नैपर्छ, हामीले जे कुरा गर्ने हो कहीँ न कहीँ यही संविधानमा टेक्नैपर्छ किनकि सामाजिक सञ्जाल बन्द हुँदै गर्दा हाम्रो समाजले स्वीका गर्दैन भने हाम्रा नागरिक अधिकार खोसेका कुरा कसले स्वीकार गर्छ? फेरि अर्को आन्दोलन हुन्छ ।’
अहिलेको संविधानलाई कायमै राखेर जानुपर्ने उनले बताए ।
‘यो संविधानलाई कायमै राखेर यसभित्र संशोधन र परिमार्जन गरौं, तपाईंहरूले भनेअनुसार गरौं । तपाईंहरूले चलाउने हामी पार्टी सुधार गर्न लाग्छौं, नेतृत्व परिवर्तन गर्न लाग्छौं,’ उनले भने, ‘तर संविधानभन्दा बाहिर गएर समाधान खोज्न थालियो भने अहिले एकछिन त होला केही समयपछि सम्हाल्न नसक्ने हुन्छ ।’
उनले पुनर्निर्माणमा सबैको साथ सहयोग चाहिने पनि बताए । गल्ती गर्नेलाई कानुनअनुसार कारबाही गरिनुपर्ने पनि उनको भनाइ छ ।
उनले ‘जेनजी’ समूहलाई सम्हालिएर अघि बढ्न आग्रह गरेका छन् । उनले समस्याको छिटो समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् ।
“बिग्रन दिन हुँदैन । सम्हालेर लिएर जानुपर्छ । संयमित भएर सोचिदिनुहोला,” उनले भनेका छन् ।
उनले आफूहरूबाट भएका गल्ती, कमजोरीप्रति माफी माग्दै सुध्रने वाचा गरेका छन् । “बीचमा हामीबाट जे गल्ती, कमजोरी भएका छन्, त्यसका लागि माफी माग्छु । सुध्रने वाचा गर्छु । सच्याउँछौँ । तर, अहिलेको यो अवस्थालाई सम्हालने कुरामा अनुरोध गर्छु,” उनले भनेका छन् ।
उनले ‘जेनजी’को आक्रोशप्रति पनि माफी मागेका छन् । “म तपाईंहरूको फ्रस्टेसन बुझ्छु । मेरो ठाउँबाट जति गर्नुपर्थ्यो, त्यो गर्न नसेकोमा सबैभन्दा पहिले माफी माग्छु,” उनले भनेका छन् ।
थापाले यही भदौ २३ गते १९ जना मारिँदा आफ्नो प्रत्यक्ष संलग्नता नरहेको भन्दै घटनाप्रति माफी मागेका छन् ।


प्रतिक्रिया