काठमाडौं । आगलागीबाट भाटभटेनी सुपर मार्केटका देशभर रहेका २८ मध्ये २१ स्टोरमा क्षति र १२ शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।
जेन जी पुस्ताले गरेको आन्दोलनका क्रममा आगलागीबाट १२ शाखा स्टोर पूर्ण क्षति र नौ शाखामा लुटपाट र तोडफोड भएको भाटभटेनी सुपर मार्केटले जनाएको छ । सात वटा शाखामा भने कुनै क्षति भएको छैन ।
आन्दोलनकारीले आगजनी र तोडफोड गरेपछि भाटभटेनीको देशभर रहेका स्टोरमा सामान्यदेखि पूर्ण रूपमा क्षति पुगेको हो । भाटभटेनीको देशभर १२ वटा स्टोर र मुख्य गोदाम पूर्ण रूपमा क्षतिग्रस्त भएको भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलले जानकारी दिए ।
आगलागीबाट टङ्गाल, महाराजगन्ज, कोटेश्वर, बालुवाटार वेयर हाउस, पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरान शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको उहाँले जानकारी दिए ।
यस्तै कलङ्की, राधे राधे, बालाजु, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवामा भवन तोडफोड र लुटपाट भएको भाटभटेनीले जनाएको छ ।
टोखा, सातदोबाटो, अनामनगर, पाटन, नेपालगन्ज, डब्लुटिसी त्रिपुरेश्वर र सानागाउँ शाखामा भने तोडफोड र नोक्सान नभएको भाटभटेनीले जनाएको छ ।
भाटभटेनीले पढ्दै रोजगारीदेखि पूर्णकालीनरुपमा हजार भन्दा धेरै युवालाई रोजगारी दिएको थियो ।
पूर्णरुपमा जलेर सञ्चालनमा आउनै नसक्ने खालका स्टोरमा कार्यरत कर्मचारीको व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको अध्यक्ष मिनबहादुर गुरुङले बताएका छन् ।
क्षतिको विवरण आउन कम्तिमा पनि दुई तीन साता लाग्ने भाटभटेनीले जनाएको छ ।


प्रतिक्रिया