नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ: मुख्यसचिव अर्याल

नागरिक सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार छ: मुख्यसचिव अर्याल



काठमाडौं । मुख्यसचिव एकनारायण अर्यालले अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताएका छन् ।

शुक्रबार सिंहदरबारस्थित भौतिक पूर्वाधारहरूको निरीक्षणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यसचिव अर्यालले जेनजीको मागअनुसार गठन हुने सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको बताएका हुन् ।

अर्यालले मुलुकका अत्यावश्यक सेवाहरू अबाधित रूपमा सञ्चालन भइरहेको र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको समेत बताए । राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत सुरू भइसकेको उनको भनाइ छ ।

उनले सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षा स्थिति सामान्यतर्फ उन्मुख रहेको पनि बताए ।

उनले प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको उल्लेख गर्दै पूर्वाधार र सवारी साधनको क्षतिबारे प्राविधिक मूल्यांकन गरिने बताए ।

उनले भने, ‘हामीले हिजोदेखि राहदानीदेखि वैदेशिक रोजगारका सबै सेवाहरू अनलाइनबाट सुरू गरिसकेका छौं । अत्यावश्यक आवश्यक सेवाहरू खानेपानी, विद्युत तथा टेलिफोन लगायत जनतालाई दिनुपर्ने सेवाहरूको लागि पनि हामीले तत् तत् निकायहरूलाई निर्देशन दिइसकेका छौं । हिजो र अस्ति मन्त्रालयका सचिवहरूसँग भर्चुअल माध्यमबाट छलफल गरेर सोहीअनुसार निर्देशन पनि भइसकेको छ। सुरक्षाको सम्बन्धमा नेपाली सेनाको नेतृत्वमा काम भइरहेको छ। र सुरक्षा स्थिति सामान्यउन्मुख छ। अब जेनजी पुस्ताको मागहरू अनुसार सरकार बनोस् ।’

उनले अगाडि थपे, ‘नागरिक सरकारसँग काम गर्नको लागि ब्युरोक्रेसी तयार छ । सरकार आइसकेपछि मन्त्रालयमार्फत् हुने सेवाका सम्बन्धमा आज निरीक्षणपछि छलफल पनि गर्यौं । कति क्षति भएको छ त्यसको आंकलन गरिसकेपछि क्षति कम भएको ठाउँबाट सेवा प्रवाह गर्ने कुराहरू भइरहेको छ । त्यहीअनुसार हामी काम अगाडि बढाउँछौं । सरकार सञ्चालनको विषयम आएको सबै हल्ला हो । सम्भवतः सिंहदरबारबाटै सरकार गठन हुन्छ त्यो अनुसारको व्यवस्थापन हामी गर्छौं। अभिलेखको क्षति कल्पना समेत गर्न सकिँदैन । पूर्वाधार र सवारीको क्षतिबारे प्राविधिक रूपमा आंकलन गर्छौं ।’

उनले नागरिकलाई अत्यावश्यक सेवा प्रवाह गर्नका लागि सम्बन्धित निकायहरूलाई निर्देशन दिइसकेको पनि बताए ।