अत्यावश्यक संरचना जलाउनेलाई नेपाली कसरी भन्ने : प्रधानमन्त्री कार्की

अत्यावश्यक संरचना जलाउनेलाई नेपाली कसरी भन्ने : प्रधानमन्त्री कार्की



काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सिंहदरबार, सर्वोच्च अदालत लगायत अत्यावश्यक सरकारी संरचना जलाउने घटनाप्रति आपत्ति जनाउँदै ती कार्यकारीहरुलाई ‘नेपाली कसरी भन्ने ?’ भनी प्रश्न उठाएकी छिन्। उनले यस्ता अपराधमा संलगाहीलाई कडा कारबाही गरिने पनि संकेत गरिन्।

आज पदभार ग्रहण गरेपछि कर्मचारीसमूहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, “बडो आश्चर्यको कुरा छ कि किन अत्यन्त आवश्यक संस्थाहरु देशको, जसले यो देशको शासन चलाएको छ, ती भवनहरु, ती मिसिल, ती कागजहरु, नष्ट भए ? अलिकति मलाई त यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?”

उनले यी गतिविधि षडयन्त्रपूर्वक भएको हुन सक्ने आशङ्का व्यक्त गरिन् र थपिन, “हाम्रा संस्थाहरु, यस्तो अनुहार देखाउन नसक्ने अवस्थामा पुर्‍याएको छ । मलाई त जहाँसम्म लाग्छ, यो एउटा प्लान वेमा, षडयन्त्रै भएको हो कि भन्ने लाग्छ।”

प्रधानमन्त्री कार्कीले जेनजी युवा प्रदर्शनका क्रममा भएका क्षति र विनाशबारे अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने दुईबुँदे प्रतिबद्धता व्यक्त गरिन्। उनले भनिन्, “यसबारे अनुसन्धान हुन बाँकी छ । र, अनुसन्धान गरेर यसरी प्रहार गर्नेहरुलाई, यसरी नोक्सान गर्नेहरुलाई, अपरिहार्य वस्तु, अत्यन्त आवश्यक वस्तु माटोमेट बनाएको छ, त्यसलाई छोड्नुपर्ने अवस्था छैन,” र थपिन्, “यो कारबाही हुनुपर्ने अवस्था छ । यसको खोजबिन तलास हुनुपर्ने अवस्था छ ।”

उनले सिंहदरबार र सर्वोच्च अदालत जस्ता संरचनाहरु जल्दा महत्वपूर्ण कागजातहरु नष्ट भई सरकारका केहि रेकर्डहरू शून्य अवस्थामा पुगेको बताइन्। उनका शब्दमा, “भौतिक क्षतिले केही हुँदो रहनेछ। त्यो त बनाउन पनि सकिन्छ । ती रेकर्डहरु, जमानाका फाइलहरु, विवरणहरु सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौं । हाम्रो अवस्था शून्यमा छ।”