विद्रोह जेन–जीको सरकार बन्यो जेन–एक्सको : विप्लव

विद्रोह जेन–जीको सरकार बन्यो जेन–एक्सको : विप्लव



काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेन–जीले विद्रोह गरेको तर सरकार जेन–एक्सको बनेको टिप्पणी गरेका छन् । सोमबार विज्ञप्ति जारी गर्दै उनले सरकारको बनोटप्रति विरोध दर्ज गरेको टिप्पणी गरेका हुन् ।

‘सम्पूर्ण नागरिकहरुको प्रतिक्षालाई चिर्दै पूर्वन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएको छ । सरकारको निर्माण जेन–जी र जनताको अपेक्षाविपरीत बन्न पुगेको छ । विद्रोह जेन–जीको सरकार जेन–एक्सको भएको छ । हाम्रो पार्टी यो सरकारको बनोटप्रति विरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको छ,’ उनले भनेका छन् ।

आन्दोलनरत शक्ति, नागरिक समाज, संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार बन्नु पर्ने पार्टीको मत रहेको उनको भनाइ छ ।

‘यसलाई जाना जान प्रवेश गराइएन या बेवास्ता गरियो । कसको दबाब या इसारामा यो गरियो विषय रहस्यपूर्ण छ । परन्तु यसमा गैर–दलीय, गैर–वामपन्थी सोचले काम गरेको देख्न सकिन्छ । यसलाई सम्पूर्ण राजनीतिक क्षेत्रबाट अस्वीकार गरिएको छ । जनताले पनि स्वीकार्ने छैनन्,’ उनले भने ।

वर्षौंदेखि भ्रष्टाचार, राष्ट्रघात, तस्करी, दलालीका विरुद्ध लडेका राजनीतिक शक्तिहरूलाई उपेक्षा गर्नु भनेको समस्यालाई निकास दिनु नभएको र संक्रमणकाललाई अझै लम्ब्याउनु र गिजोल्नु मात्र भएको उनको ठहर छ ।

‘हामीलाई चाहिएको सरकार र मन्त्रीमण्डल मात्र होइन अपितु राज्यको पुनःसंरचना र संविधानको पुनःलेखन पनि हो । पुरानो राज्य प्रणालीलाई यथावत राखेर यसको निकास सम्भव छैन । तसर्थ आदरणीय जनसमुदायमा हाम्रो विशेष अपिल छ कि राज्यलाई अग्रगामी रुपान्तरण गर्नका लागि समयमा नै सचेत बनौं । देशका सामु खडा भएका राष्ट्रिय स्वाधीनताको विशेष चुनौतीलाई गम्भीरतापूर्वक आत्मसाथ गरौं । हाम्रो पार्टी देशको स्वाधीनता, आत्मनिर्भरता, जनअधिकार, नेपाली विशेषताको समाजवादको पक्षमा इमान्दरीपूर्वक डटिरहने प्रतिवद्धता व्यक्त गर्दछ,’ उनले भनेका छन् ।