कांग्रेसले सुशीला कार्की नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्छ : दिनेश कोइराला

कांग्रेसले सुशीला कार्की नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्छ : दिनेश कोइराला



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले वर्तमान सरकारलाई सफल बनाउनुपर्ने बताएका छन् । मंगलबार एक वक्तव्य जारी गर्दै उनले सुशीला कार्की नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘सुशीला कार्की नेतृत्वको सरकार असफल भयो भने देश कहाँ पुग्छ ? यो कुरा विचार गरौँ । सत्ता गुमेकोमा छटपटाउनुभन्दा देशको भविष्य हेर्नु बुद्धिमानी हुन्छ । नेपाली कांग्रेसका मलगायतका साथीहरूले सत्ता छोडौँ, आमूल सुधारका लागि पहल गरौँ भनेर निरन्तर आवाज उठाएका हौँ । हामीले उठाएको आवाज पार्टी नेतृत्वले सुनेन, सरकारको नेतृत्वले सुनेन तर जेन–जी पुस्ताले सुन्यो । फलत: विस्मयकारी परिवर्तन भएको छ । तसर्थ यो परिवर्तनलाई आत्मसात् गर्दै सुशीला कार्की नेतृत्वको सरकारलाई समर्थन दिनुपर्छ ।’

जेन–जीको आन्दोलनका उपलब्धिलाई बेवारिसे बन्न नदिनु नै राष्ट्र र कांग्रेसको हितमा रहेको उनले बताएका छन् । ‘जेन–जी आन्दोलनलाई नेपाली कांग्रेसले वरण गर्नुपर्दछ र वर्तमान सरकारलाई चुनाव गराउने सर्तमा समर्थन गर्नुपर्छ,’ उनले भनेका छन् ।

काेइरालाले सातवटा सर्तमा कार्की नेतृत्वको सरकारलाई समर्थन गनुपर्ने बताएका छन् ।

सर्तहरू:

१. तोकिएकै मितिमा आमचुनाव गराउने ।
२. सर्वशक्तिमान भ्रष्टाचार छानबिन आयोग बनाउने ।
३. सर्वशक्तिमान सम्पत्ति छानबिन आयोग बनाउने ।
४. भ्रष्टाचार नियन्त्रणको काम तत्कालै थालनी गर्ने ।
४. निहत्था जनतामाथि गरिएको दमन, गोली प्रहार र अत्याचारको छानबिन गर्ने ।
५. जेन–जी आन्दोलनमा घुसपैठ गरेर आगजनी गर्नेहरूको पहिचान र कारबाही गर्ने ।
६. जनताको दैनिक जीवन सहज बनाउने ।
७. राष्ट्रिय पुननिर्माणको काम तत्काल थालनी गर्ने ।