३ दिनमा मुस्ताङ भन्सारमा ९ करोड ७० लाख राजस्व सङ्कलन

३ दिनमा मुस्ताङ भन्सारमा ९ करोड ७० लाख राजस्व सङ्कलन



मुस्ताङ । मुस्ताङ भन्सार कार्यालय न्हेचुङमा तीन दिनको अवधिमा ९ करोड ७० लाख ६४ हजार रूपैयाँ राजस्व सङ्कलन भएको छ । नेपाल–चीन उत्तरी कोरला नाकाबाट आयात गरिएका मालसामानबाट भन्सारले राजस्व सङ्कलन गरेको हो ।

कोरला नाका ११ दिन अघि पूर्ण रुपमा सञ्चालनमा आएको थियो । कोरला नाकाबाट अहिले सम्म एक सय ६१ विद्युतीय गाडी ल्याउनका लागि ८५ मालवाहक कन्टेनर लोड गरी भन्सार कार्यालय न्हेचुङमा जाँचपासका लागि रोकिएका मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए ।

चिनियाँ भन्सारबाट जाँचपास भई मुस्ताङ भन्सारमा जाँचपासका लागि रोकिएका ८५ कन्टेनरमध्ये अहिलेसम्म ४५ कन्टेनरको भन्सार जाँचपास भइसकेको उनले बताए । जाँचपास भईसकेका ४५ मालवाहक कन्टेनरबाट भन्सार राजस्व सङ्कलन भएको हो ।

मुस्ताङ भन्सारबाट नेपाली मालवस्तु चीनतर्फ निकासका लागि दुई गाडीको भन्सार जाँचपास भइसकेको भन्सार प्रमुख खड्काले बताए ।