लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्रीको आह्वान

लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीति कार्यान्वयन गर्न प्रधानमन्त्रीको आह्वान


ग्लोब नेपाल
0
Shares

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले लैंगिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्दै पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको प्रारम्भका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैंगिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको उल्लेख गरेका छन् ।

बालेनले महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै बदलिँदो परिवेशमा डिजिटल माध्यमबाट हुने हिंसासमेत थप चुनौतीका रूपमा देखिएको बताउनुभएको छ। संविधानको मर्मअनुरूप समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा रूपान्तरण गर्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा उहाँले जोड दिएका छन् ।

प्रधानमन्त्री शाहले लैंगिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई सरकारले प्राथमिकता दिएको उल्लेख गरेका छन् । यी प्रयासलाई प्रभावकारी बनाउन कानुनको कार्यान्वयन, सामाजिक चेतना, संस्थागत जवाफदेहिता तथा तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनको भनाइ छ।

यसै वर्ष भदौ महिनामा भोटेकोशी क्षेत्रमा गएको बाढीले पुर्‍याएको क्षतिको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्नेतर्फ विशेष सचेत रहनसमेत आग्रह गरेका छन् । अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आम नागरिकको सक्रिय सहभागिता तथा ऐक्यबद्धताका लागि उनकाे आह्वान छ ।

प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन हुने लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष पनि आजदेखि सुरु भएको हो।