लिबियाको तटमा डुंगा डुब्दा ६१ आप्रवासी बेपत्ता

लिबियाको तटमा डुंगा डुब्दा ६१ आप्रवासी बेपत्ता


ग्लोब नेपाल
0
Shares

जेनेभा । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर)ले लिबियाको पूर्वी तटमा डुंगा पल्टिँदा ६१ जना अनियमित आप्रवासी बेपत्ता भएको जनाएको छ ।

सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा, युएनएचसिआरले यो घटनाबाट गहिरो दु:ख व्यक्त गर्दै भनेको छ, “टोब्रुकमा यो दोस्रो दुखद डुंगा दुर्घटना हो, जहाँ ७४ जना यात्रु बोकेको जहाज डुब्यो । १३ जना मात्र बाँच्न सके र दर्जनौँ अझै बेपत्ता छन् ।”

आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन(आइओएम)का अनुसार गत आइतबार टोब्रुकमै अर्को डुंगा दुर्घटनामा ५० सुडानी नागरिकको मृत्यु भएको र २४ जना आप्रवासी उद्धार गरिएको थियो ।

लिबियाका तटहरू, विशेषगरी गर्मी महिनामा, अनियमित आप्रवासी बोकेका डुंगा डुब्ने घटना बारम्बार हुने गरेका छन् ।