ढाका । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले पहिलो पटक आफ्नो स्वदेश फिर्तीको मिति तय गरेकी छिन् । आगामी डिसेम्बर १६ मा स्वदेश फर्कने योजना बनाएकी उनले त्यसका लागि तारिक रहमान नेतृत्वको सरकारलाई विमान पठाइदिन आग्रह गरेकी छिन् ।
हसिनाका प्रवक्ता सैयद मोजम्मेल अलीले मंगलबार उक्त जानकारी दिएका हुन् । उनका अनुसार हसिना नयाँदिल्लीबाट ढाकासम्म बंगलादेशको राष्ट्रिय ध्वजावाहक ‘बिमान बंगलादेश एयरलाइन्स’ मार्फत यात्रा गर्न चाहन्छिन् । यद्यपि, उनको स्वदेश फिर्तीको आग्रहबारे बंगलादेश सरकारले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
सन् १९७१ डिसेम्बर १६ मा बंगलादेशले पाकिस्तानविरुद्धको मुक्ति संघर्षमा विजय हासिल गरेको थियो । सोही दिन पाकिस्तानी सेनाले भारतीय सेना र ‘मुक्ति बाहिनी’ समक्ष आत्मसमर्पण गरेको थियो । मुक्ति बाहिनी बंगलादेशको स्वतन्त्रताका लागि लड्ने योद्धाहरूको संगठन थियो ।
प्रवक्ता अलीका अनुसार ५ अगस्ट २०२४ मा जसरी बंगलादेशी विमानमार्फत उनलाई भारत पुग्न सहजीकरण गरिएको थियो, त्यसरी नै अब उनको फिर्तीका लागि पनि सरकारले व्यवस्था मिलाउनुपर्छ । “हसिनालाई संविधानविपरीत देशबाहिर पठाइएको थियो । त्यसैले अब उनलाई ससम्मान फिर्ता ल्याउनु सरकारको जिम्मेवारी हो,” अलीले भने ।
हसिनाको स्वदेश फिर्तीको घोषणाले बंगलादेशमा राजनीतिक तनाव थप बढाएको छ । हाल उनको दल ‘अवामी लिग’ प्रतिबन्धित अवस्थामा छ । यसै महिनाको सुरुमा उनले नयाँ राहदानी र अन्य आवश्यक कागजातका लागि आवेदन दिएकी थिइन्, तर रहमान सरकारले उनको उक्त अनुरोध अस्वीकार गरिदिएको छ ।


प्रतिक्रिया