सानेपामा कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

सानेपामा कांग्रेस कार्यसम्पादन समिति बैठक जारी



पाटन (ललितपुर) । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

गत भदौ २२ र २४ गते भएको जेनजी प्रदर्शनपश्चात् आज पहिलोपटक भौतिक उपस्थितिमा कार्यसम्पादन बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको हो ।

उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसिरहेको बैठकमा पार्टीका पदाधिकारीसहितका नेताहरू सहभागी छन् । बैठकमा पदाधिकारीहरूले जेनजी आन्दोलनपछि विकसित घटनाक्रम, जनजीविका र पार्टी कार्यालय व्यवस्थापनलगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ ।

पछिल्लो समय कांग्रेसभित्र पार्टी पुनर्गठनको बहस चलिरहेको छ ।

प्रतिनिधि सभा विघटन गरेर फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकिसकेकाले यही नेतृत्वमा चुनावमा जान नसकिने नेताहरूले बताउन थालेका छन् ।

भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित घरमै रहेका सभापति देउवा दम्पतीमाथि आक्रमण भएको थियो ।

सभापति देउवा दम्पतीको उपचार भइरहेको छ ।

आन्दोलनकारीहरूले कांग्रेस केन्द्रीय कार्यालय भवनमा पनि आगजनी गरेका थिए । आगजनी भएको भवनमै पहिलो पटक केन्द्रीय कार्यसम्पादन समिति बैठक बसेको हो ।