काठमाडौं । वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी–२० क्रिकेट शृंखलाका लागि नेपाली राष्ट्रिय टिमको भ्रमण अनिश्चित बनेको छ। शृंखलाका खेल युनाइटेड अरब इमिरेट्स (यूएई)मा आयोजना गर्ने तयारी भए पनि नेपाली टोलीलाई अझै भिसा प्राप्त भएको छैन।
नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाका अनुसार खेलाडी तथा टोलीका सदस्यहरूको सम्पूर्ण प्रक्रिया पूरा भए पनि भिसा स्वीकृति नआएको अवस्था छ। उनका अनुसार, भिसा नआए शृंखला नै स्थगित वा रद्द हुने सम्भावना रहन्छ।
नेपालले पहिलो पटक टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग द्विपक्षीय शृंखला खेल्ने तयारी गरेको हो। यस शृंखलालाई क्यानले “युनिटी कप” नामकरण गरेको छ।
कार्यतालिका अनुसार, नेपालले सेप्टेम्बर २७ मा पहिलो खेल, सेप्टेम्बर २९ मा दोस्रो खेल, र सेप्टेम्बर ३० मा तेस्रो तथा अन्तिम खेल खेल्ने तालिका छ।
क्यानले असोज २ गते नै टोलीको औपचारिक बिदाइ कार्यक्रम सम्पन्न गरिसकेको थियो, तर असोज ३ गते प्रस्थान गर्ने योजना अनुसार खेलाडीहरू यात्रा गर्न नसकेको अवस्था छ।


प्रतिक्रिया