शिक्षामन्त्री महावीर पुनद्वारा पदभार ग्रहण

शिक्षामन्त्री महावीर पुनद्वारा पदभार ग्रहण

किताब बेच्दाबेच्दै मन्त्री बनाइदिए



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । केशर महलस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा तयार गरिएको हो ।

उनीसहित आज पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिइसकेका छन् ।

सरल जीवनशैली भएका पुनले अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा उच्च शिक्षा अध्ययन गरेका हुन् । विज्ञान प्रविधिको क्षेत्रमा काम गरेका पुनले ‘रोमन म्यागासेसे अवार्ड’ पाएका छन् ।

नेपालका ग्रामीण भेगमा ताररहित इन्टरनेट सेवा पुर्‍याएका पुनले सन् २००७ सलामा एसियाको नोबेल पुरस्कारको रूपमा चिनिने म्यागासेसे पुरस्कार पाएका हुन् ।

सन् २०१४ इन्टरनेट सोसाइटीले पनि जोनाथन बी पोस्टल अवार्ड पुनलाई दिएको छ ।

किताब बेच्दाबेच्दै मन्त्री बनाइदिए

पुनले आफूलाई मन्त्री भएपछि केही पनि सेवासुविधा नचाहिने बताएका छन् ।

सपथ ग्रहण समारोहमा अरु मन्त्रीहरुले सेवासुविधा त्यागिरहेका छन्, तपाईं के गर्नुहुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘मलाई सेवा सुविधा केही पनि चाहिँदैन । मन्त्रालयमै ओछ्याएर सुत्ने हो । मन्त्रालयभित्र किचेन होला, त्यहीँ पकाएर खान्छु र खुरुखुरु काम गर्छु ।’

पत्रकारले मन्त्री भएपछि के के काम गर्नुहुन्छ भनेर सोधेका प्रश्नमा पुनले भने, ‘म शिवजी भएदेखि त्रिनेत्र लगाएर यस्तो यस्तो गर्छु भन्ने थिएँ । अपर्झट मन्त्री भइएको छ । प्लान बनाएर आएको भए पो त । राजनीतिक क्षेत्रमा काम गरेर आएको भए यो गर्छु भन्ने हो । किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाएपछि अहिले नै के गर्छस भनेर कसरी भन्ने ।’