विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा रूपान्तरण अपरिहार्य रहेको बताएका छन् । भदौ २४ मा प्रदर्शनकारीहरूले आगजनी गरेको विराटनगरस्थित कोइराला निवासमा सोमबार आएका उनले मंसिरसम्ममा महाधिवेशन गरेर अघि बढ्ने पनि बताए ।
महामन्त्री शर्माले नयाँ परिस्थितिमा पार्टी पनि नयाँ ढंगले अघि बढ्ने बताएका हुन् । ‘मंसिर मसान्तसम्म अहिलेकै कार्यसमितिको कार्यकाल हो, अब यसको कार्यकाल थप नगरौं। अहिले क्रियाशील सदस्यता नवीकरण भइरहेको छ, वितरण पनि खुला गरेर महाधिवेशनमा जानुपर्छ,’ महामन्त्री शर्माले भने ।
उनले अब कसरी अघि बढ्ने भन्नेबारे पार्टी केन्द्रीय समितिबाट साझा धारणा आउने पनि बताए। तत्कालै महाधिवेशनमा जान नहुने मत पनि पार्टीमा रहेको उनको भनाइ थियो ।
‘म आज कोइराला निवासको यो माटोमा उभिएर भन्छु, हामी नयाँ ढंगले आउनेछौं, मुलुकको अवस्था सम्हाल्नेछौं । मुलुकलाई नयाँ सम्भावनातिर लिएर लैजान कृतसंकल्पित छौं,’ महामन्त्री शर्माले भने ।
महामन्त्री शर्माले अहिले आफूहरूका लागि सभापति देउवाको स्वास्थ्यलाभ र कांग्रेसको स्वास्थ्यलाभ दुवै उच्च प्राथमिकतामा रहेको बताए ।
‘कांग्रेसले आफैलाई तन्नेरी बनाउनुछ, पार्टीलाई तरूण बनाउन घनीभूत छलफल हुन्छ, हुनुपर्छ,’ उनले भने, ‘यसका लागि सबैका मत एकैठाउँ राखेर हामी समन्वयमा गर्छौं । जहाँसम्म सभापतिको स्वास्थ्योपचारका बेला कुरा आयो भन्ने छ । निश्चय नै हामी सभापतिज्यूको स्वास्थ्यप्रति संवेदनशील छौं । स्वास्थ्यलाभको कामना गरिरहेका छौं। लगातार सम्पर्कमा रहेर स्वास्थ्य अवस्था बुझिरहेका छौं । जसरी हाम्रा लागि सभापतिको स्वास्थयलाभ महत्वको कुरा छ, त्यत्तिकै कांग्रेसको स्वास्थ्यलाभबारे पनि संवेदनशील छौं ।’


प्रतिक्रिया