कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्न माग

कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्न माग



काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे लगायत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दै पार्टीमा हस्ताक्षर अभियान सुरु गरेका छन् ।

पार्टी सभापति शेरबहादुर देउवामाथि जेनजी आन्दोलनका क्रममा भएको आक्रमणप्रति निन्दा गर्दै प्रतिनिधिहरूले विगतका गल्तीहरूप्रति क्षमा माग्न र सुधारिएर भविष्य बनाउनका लागि विशेष महाधिवेशनको विकल्प नभएको बताएका छन् ।

नेताहरु देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर अभियान नै चलाएका हुन् ।

अहिलेको अवस्थामा विशेष महाधिवेशन बोलाउने केन्द्रीय समितिको दायित्व भए पनि त्यो सम्भावना नभएकाले प्रतिनिधिहरू नै यसको तयारीमा लागेको बताइएको छ ।

पार्टीलाई अहिलेको दुरावस्थाबाट निकालेर समयसापेक्ष प्रभावकारी बनाउन जिम्मेवारीबोध गरी विधानको धारा १७ २ अनुसार विशेष महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह पनि गरिएको छ ।

कांग्रेसका केही भ्रातृ संस्था र केही जिल्ला तथा स्थानीय तहको नेतृत्वले पनि विशेष महाधिवेशनको माग गर्दै आएका छन् ।