१२ स्थान सुधार गर्दै टी–२० बलिङ वरीयताकाे चाैथाे स्थानमा उक्लिए अबरार

१२ स्थान सुधार गर्दै टी–२० बलिङ वरीयताकाे चाैथाे स्थानमा उक्लिए अबरार

अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा



काठमाडौं । पाकिस्तानका स्पिनर अबरार अहमदले आईसीसी टी–२० बलिङ वरीयतामा एकैपटक १२ स्थान सुधार गरेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा अबरार १२ स्थान सुधार गर्दै चौथो स्थानमा आइपुगेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) मा चलिरहेको एशिया कपमा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । २७ वर्षीय अबरारले करिअरकै उत्कृष्ट रेटिङ पाएका छन् ।

टी–२० बलिङ वरीयतामा भारतका वरुण चक्रवर्ती शीर्ष, न्युजिल्यान्डका ज्याकोब डुफे दोस्रो र वेस्ट इन्डिजका एकेल होसेन तेस्रो स्थानमा यथावत् छन् । यो वरीयतामा नेपालका ललितनारायण राजवंशी ५७औं, सन्दीप लामिछाने ७८औं र दीपेन्द्रसिंह ऐरी ८३औं स्थानमा छन् ।

यस्तै टी–२० ब्याटिङ वरीयतामा भारतका अभिषेक शर्मा शीर्ष र इङ्ग्ल्यान्डका फिल साल्ट दोस्रो स्थानमा यथावत् रहँदा भारतकै तिलक वर्मा एक स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन् । यो वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी ६४औं, रोहित पौडेल ७१औं, आसिफ शेख ८०औं र कुशल भुर्तेल ८६औं स्थानमा छन् ।

यस्तै टी–२० अलराउन्डर वरीयतामा भारतका हार्दिक पान्ड्या शीर्ष, अफगानिस्तानका मोहम्मद नबी दोस्रो र जिम्बावेका सिकन्दर राजा तेस्रो स्थानमा यथावत् छन् । यो वरीयतामा नेपालका दीपेन्द्रसिंह ऐरी चौथो, कुशल भुर्तेल ३२औं, गुल्सन झा ५८औं, रोहित पौडेल ६८औं, कुशल मल्ल ७२औं र करण केसी ९४औं स्थानमा छन् ।