काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले भेटवार्ता गरेका छन् । भेटमा बालेनले जेनजी आन्दोलनमा दमन गर्नेहरूमाथि कारबाही नगरेको भन्दै असन्तोष समेत प्रकट गरेका छन् ।
बालेननिकट स्रोतका अनुसार बालेनले प्रधानमन्त्री कार्कीसँग भेटका लागि समय लिएर बुधबार बिहान बालुवाटार पुगेका हुन् । भेटका क्रममा प्रधानमन्त्री कार्कीले बालेनलाई ‘बाहिरको माहोल के छ?’ भनेर जिज्ञासा राखेकी थिइन् ।
बालेनले विकसित घटनाक्रमबारे आफ्नो धारणा राख्दै जेनजीका मागहरूको सम्बोधनका विषयमा प्रधानमन्त्रीलाई प्रश्न राखेका थिए ।
बालेनले भदौ २३ गते भएको जेनजी प्रदर्शनमाथि गोली चलाउने र त्यसका लागि आदेश दिनेहरूमाथि कारबाही नभएकामा असन्तोष प्रकट गरे ।
‘सरकार गठन भएको यतिका दिन भइसक्यो । गोली चलाउनेहरू र आदेश दिनेहरू कहाँ छन् ? अहिलेसम्म उनीहरूलाई किन पक्राउ गरिएन ?’ बालेनले भनेका थिए ।
पीडित परिवारहरूले पनि यो प्रश्न उठाइरहेको र तत्काल कारबाही नभए असन्तोष बढ्दै जान सक्नेतर्फ पनि उनले सचेत गराएका थिए ।
जवाफमा प्रधानमन्त्री कार्कीले यस विषयमा आफू गम्भीर रहेको प्रतिक्रिया दिएकी छन् । प्रधानमन्त्री कार्कीले गर्दै छौं भन्दै भनिन्, ‘अत्याचार गर्ने, शक्तिको दुरुपयोग गर्ने कसैले उन्मुक्ति पाउँदैन। उन्मुक्ति दिने कुरै छैन ।’
उनीहरूबीच करिब आधा घण्टा जति कुराकानी भएको स्रोतको भनाइ छ ।


प्रतिक्रिया