काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नेछिन् ।
जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।
भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री पदमा नियुक्त भएकी थिइन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जगमा अन्तरिम सरकार गठन भएको थियो ।
जेन–जी विद्रोहपछि उत्पन्न परिस्थिति, भदौ २४ गते प्रदर्शनका क्रममा भएको तोडफोड, आगजनी त्यसको पुनर्निर्माण, भदौ २३ गते तत्कालीन सरकार पक्षबाट भएको दमन लगायत विषय समेटेर उनले देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरेको छ ।


प्रतिक्रिया