आगामी चुनावअघि भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ : डा. बाबुराम भट्टराई

आगामी चुनावअघि भ्रष्टाचारीलाई कारबाही हुनुपर्छ : डा. बाबुराम भट्टराई



काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेसपा नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष पदबाट राजीनामा दिए पनि राजनीतिबाट अलग नभएको बताएका छन् । उनले नेतृत्वमा नयाँ पुस्तालाई प्रोत्साहन गर्न अध्यक्ष पदबाट अलग भएको बताए ।

नेसपा (नयाँ शक्ति) को अध्यक्षबाट राजीनामा दिएपछि बिहिबार पत्रकार सम्मेलन गर्दै भट्टराईले भने, ‘म कुनै आन्दोलनबाट अलग भएको होइन । देशलाई विकल्प निर्माण गर्ने अभियानमा म हिजो पनि थिएँ, आज पनि छु र भोलि निरन्तर रहने छु ।’ जेनजी युवा आन्दोलन जायज भएको पनि उनले बताए ।

उनले चुनाव अघि भ्रष्टाचारीहरुलाई कारबाही हुनुपर्ने बताए । अन्यथा भ्रष्ट नेताहरु नै निर्वाचित भएर आउने उनको भनाइ छ ।

उनले पुरानो सरकार ढाले पनि सत्ता नढलेको भन्दै शासकीय प्रणालीमा सुधार गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए । त्यो भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म देशमा स्थीरता नआउने उनले बताए । अन्यथा जेनजी युवाको बलिदान खेर जाने उनको भनाइ छ ।

उनले अब नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्ने बताएका छन् । ‘भ्रष्टीकृत भइसकेका दलहरुलाई कुनैपनि बाहनामा किन्तु परन्तु नभनीकन टाउको उठाउन दिनु हुन्न,’ भट्टराईले भने, ‘नयाँ र वैकल्पिक शक्तिहरुले देशको नेतृत्व लिनुपर्छ ।’

उनले पुराना र थोत्रा पार्टीहरु सच्चिने सम्भावना नरहेको बताए । बरु पुराना पार्टीका नेताहरुले विद्रोह गर्नुपर्ने बताएका छन् ।