काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई दीर्घकालीन समाधानको बाटोमा लैजान सबै राजनीतिक दलहरू, नागरिक समाज र नयाँ पुस्ताबीच सहकार्य अपरिहार्य भएको बताएकी छन् ।
शुक्रबार काठमाडौंमा जेनजी आन्दोलनपछिको परिस्थितिबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मुलुकको अस्थिरताले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि चुनौती सिर्जना गर्ने खतरा भएको उल्लेख गरिन् ।
‘सधैं यस्तो अवस्थामा मुलुक रहिरहन सक्दैन । यसको हामीले समाधान निकाल्नुपर्छ । हाम्रो शक्तिका स्रोत भनेका जनता हुन्,’ उनले भनिन् ।
भण्डारीले राजनीतिक दलहरूको नीति, दर्शन र कार्यक्रम जनताले दिएको सुझावसँग मेल खानुपर्नेमा जोड दिइन् । उनले दलहरूबीच समन्वय र सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याउँदै भनिन्, ‘पार्टीहरू र विभिन्न आस्था राख्नेबीच छलफल र सहकार्य भएर मात्र हामीले यो समस्यालाई समाधान दिन सक्छौं ।’
उनले थपिन्, ‘राष्ट्रिय एकता कायम गर्दै हामीले राष्ट्रलाई अहिलेको युग सुहाउँदो निर्माणमा अगाडि बढाउनु पर्छ भन्ने मलाई लाग्छ । सबैले आफ्नो आफ्नो ठाउँबाट भूमिका खेलौं ।’
पूर्वराष्ट्रति भण्डारीले जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीको घटना रहस्यमयी भएको समेत बताएकी छन् । देशभर वडा कार्यालयलेखि सिंहदरबारसम्म एकैचोटी जल्नु सामान्य विषय नभएको बताइन् ।
उनले भनिन्, ‘जेनजी पुस्ताले शान्तिपूर्ण आन्दोलन गर्ने भनेका थिए। तर त्यो घटना कसरी भए, सिंहदरबार, संसद् भवन, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत थुप्रै व्यवसायी र निजी भवन, सबै नेताको घरहरू एकैचोटी खरानी भएको छ । वडा कार्यालयदेखि सिंहदरबारसम्म खरानी भएको छ । एकै दिन पूर्वदेखि पश्चिमसम्म जेनजीले कसरी गर्न सके होलारु के यसरी आफ्नो माग पूरा होलारु यो रहस्यमय घटना भएको छ ।’
उनले यो घटनाको समीक्षा गरेर शान्ति, स्थिरता ल्याएर देश विकासको बाटोमा अघि बढाउनुपर्ने बताइन् ।


प्रतिक्रिया