जेन-जीले मागे अख्तियार प्रमुख राईको राजीनामा, राजीनामा नगरे अख्तियार घेराउ गर्ने चेतावनी

जेन-जीले मागे अख्तियार प्रमुख राईको राजीनामा, राजीनामा नगरे अख्तियार घेराउ गर्ने चेतावनी



काठमाडौं । जेन-जी समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूलाई तत्काल स्वेच्छिक राजीनामा दिन आग्रह गरेको छ ।

जेन-जी आन्दोलन भ्रष्टाचारविरुद्धको अभियान पनि रहेकोले त्यसमा सहयोग गर्न प्रमुख आयूक्तसहित सम्पूर्ण आयुक्तको राजीनामा माग गरिएको बताइएको छ ।  

समूहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘२०८२ भदौ २३ गतेदेखि सुरु गरिएको हाम्रो आन्दोलनको प्रमुख उद्देश्य भ्रष्टाचार र दण्डहीनताको अन्त्य हो । तर, अख्तियारमा नेतृत्व गर्ने व्यक्तिहरूको नियुक्ति नै निष्पक्ष र लोकतान्त्रिक प्रक्रियाविना भएको कारण उनीहरूले आयोगको विश्वसनीयता गुमाएका छन् ।’

विज्ञप्तिमा राईको संलग्नता देखिएका ठूला मुद्दाहरू पनि समेटिएका छन् । तीमध्ये नेपाल आयल निगमको जग्गा खरिद प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र वाइडबडी विमान खरिद प्रकरणलाई आयोगको प्रमुखको संलग्नतासँग जोड्दै उनीमाथि नैतिक जिम्मेवारी लिने माग गरिएको छ ।

समूहले भनेको छ, ‘यी घटनाहरूमा प्रत्यक्ष वा नियामक हैसियतमा संलग्न रहेकाले प्रमुख आयुक्तको नैतिक जिम्मेवारी बनेको छ । अत: तत्काल राजीनामा दिनु नै अख्तियारको गरिमा र विश्वास पुन:स्थापना गर्ने बाटो हो ।’

विज्ञप्तिमा अहिले संघीय संसद् नहुँदा महाअभियोग प्रक्रियामार्फत पदमुक्त गर्न सम्भव नभएकाले राजीनामाबाटै पद रिक्त गर्नुपर्ने उल्लेख गरिएको छ । साथै, गठित अन्तरिम सरकारलाई खुला आवेदन प्रक्रियामार्फत निष्पक्ष नियुक्ति समिति गठन गरी नयाँ आयुक्तहरू नियुक्त गर्न पनि आग्रह गरिएको छ ।

जेन-जी मुभमेन्ट अलायन्सले अनौपचारिक तथा विद्युतीय माध्यमबाट गरेको राजीनामा माग पूरा नभए भोलि असोज २१ गते बिहान १० बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा औपचारिक निवेदन दर्ता गर्ने र आवश्यकता परे अन्य कार्यक्रमहरू सञ्चालन गर्ने चेतावनी पनि दिएको छ ।

यसरी सार्वजनिक रुपमा अख्तियार प्रमुख राईलाई अनुरोध गरेको यो समूहले उनलाई व्यक्तिगत रुपमा इमेल गरेको जनाएको छ ।