काठमाडौं । सामाजिक सञ्जालमा अहिले ९ अक्टोबर (२२ असोज) मा जेन–जीले अर्को प्रदर्शन गर्ने सूचना फैलिइरहेको छ । तर, जेन–जीको कुनै पनि पक्षले यो प्रदर्शन घोषणाको स्वामित्व लिएका छैनन् ।
२३ र २४ भदौको जेन–जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भएर मुलुक चुनावको बाटोमा हिँडिरहेका बेला फेरि प्रदर्शनको सूचना आएपछि धेरैले चासो देखाएका छन् ।
जेन-जी अगुवाहरुले एक विज्ञप्ति जारी गर्दै ‘निर्वाचन मिति घोषणा भइसकेको संवेदनशील अवस्थामा शान्ति, सुव्यवस्था खलबल्याउने, त्रास सिर्जना गर्ने र जेन–जी विद्रोहलाई बदनाम गर्ने किसिमका विभिन्न गतिविधिहरू भइरहेको उल्लेख गरेको छ । ‘मुलुकमा चुनाव नै नहोस्, शान्ति स्थापना नहोस्, सधैं तरलता रहिरहोस् भन्ने चाहनाका साथ विभिन्न व्यक्ति र समूहले देशलाई अर्को संकटतर्फ धकेल्ने धृष्टता गरिरहेका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘२२ असोज (९ अक्टोबर) मा पुनः हिंसात्मक आन्दोलन हुने भन्दै त्रास सिर्जना गरी शान्ति सुव्यवस्था खलबल्याउने प्रयास भइरहेको छ ।’
आन्दोलनको विषय सामाजिक सञ्जालमा आएपछि कतिपय प्रहरी अधिकारीहरूले समेत चासो देखाएका थिए । प्रदर्शनका अधिकांश सूचना नेपालबाहिरबाट पोस्ट भएको पाइएको प्रहरीको भनाइ छ । त्यस विषयमा थप बुझ्ने कामसमेत गरिरहेका प्रहरीले बताएको छ ।


प्रतिक्रिया