ओली र लेखकलाई पक्राउ गर्न सरकारलाई सकस

ओली र लेखकलाई पक्राउ गर्न सरकारलाई सकस



काठमाडौँ । भदौ २३ गते भएको जेन-जी आन्दोलनमा प्रदर्शनकारीहरूको हत्या भएको भन्दै जेनजी प्रतिनिधिहरूले सामाजिक सञ्जालमा तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक लगायतलाई पक्राउ गर्न अभियान चलाइरहेका छन्।

सोमबार साँझ ‘हामी नेपाल’ समूहका संयोजक सुदन गुरुङसहितको टोली काठमाडौँ जिल्ला प्रहरी परिसरमा जाहेरी नै लिएर पुगेका थिए । यद्यपि प्रहरीले उक्त जाहेरी दर्ता गर्न मानेन।

यता, ओली र लेखकमाथि पक्राउ गर्न दबाब बढेका बेला प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग छलफल गरेकी थिइन् । सो छलफल सोमबार बेलुकादेखि मंगलबार बिहान २ बजेसम्म चलेको थियो ।

छलफलको क्रममा प्रधानमन्त्री कार्कीले जेन-जी युवाहरुको मागका साथै सुरक्षा अंगका प्रमुखहरुसँग विकसित परिस्थितिलाई कसरी सम्हाल्ने भनेर रायसमेत मागेकी थिइन् । स्रोतका अनुसार गृहमन्त्री अर्यालले जाहेरी दर्ता गर्नुपर्ने धारणा राखेका थिए । तर प्रहरी अधिकारीहरुले आज पूर्वप्रधानमन्त्रीविरुद्ध आएको जाहेरी भोलि बालेनविरुद्ध पनि आउनसक्ने र त्यसले परिस्थिति थप भड्किनेतर्फ सचेत गराएका थिए ।

छलफलका क्रममा प्रहरीले जाहेरी दर्ताका लागि केन्द्रीय सुरक्षा समितिको निर्देशन र लिखित आदेश आवश्यक पर्न सक्ने भन्दै आफ्नो धारणा प्रस्तुत गर्‍यो। सुरक्षा निकायको ब्रिफिङ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले ओलीविरुद्धको जाहेरी लिनेबित्तिकै धेरै नेता तथा अहिले कायम रहेका अन्य जनप्रतिनिधिहरूविरुद्ध पनि जाहेरी पर्ने र लिनुपर्ने नजिर बस्ने सम्भावना छ।’

प्रधानमन्त्री कार्कीले भने यी समग्र विषयमा अझ मसिनो गरी छलफल र विश्लेषण गर्न अधिकारीहरुलाई निर्देशन दिएको सुरक्षा स्रोत बताउँछ । उनले दोषी जोसुकै भए पनि कारबाहीको दायरामा आउनुपर्ने दोहोर्‍याएकी थिइन् ।

गृहमन्त्री अर्यालले भने ओली र लेखकसहितलाई तत्काल पक्राउ गर्ने पक्षमा जोडबल गरेका थिए । गृह मन्त्रालय स्रोतले भन्यो, ‘उहाँले आज (मंगलबार) नै पक्राउ गर्न मिल्दैन ? भन्दै प्रहरीलाई प्रश्न गर्नुभएको थियो। तर प्रहरीले यसमा ठोस जवाफ दिएजस्तो लागेन।’

यस विषयमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि प्रधानमन्त्री कार्कीसँगको भेटमा गोली चलाउनेलाई नछोड्न भनिसकेको स्रोतको दाबी छ। यद्यपि, चारवटै प्रमुख सुरक्षा निकायहरूले देशको अवस्था र शान्ति कायम गर्ने कुरामा संयम अपनाउनुपर्ने ब्रिफिङ गरेका थिए।

गृह मन्त्रालय स्रोतका अनुसार मन्त्री आफैँ सकेसम्म छिट्टै पक्राउ गर्नेमा लागि परेका छन् । गृहमन्त्रीले मंगलबार नै पक्राउ गर्नुपर्नेमा जोड दिए पनि कार्यान्वयन हुन भने सकेन । प्रधानमन्त्री कार्कीले गृहमन्त्री लगायत सुरक्षा निकायका प्रमुखहरूसँग आज (मंगलबार) पनि छलफल गर्ने बताइएको छ ।