बयान दिन साइबर ब्युरोमा एमाले नेता बस्नेत

बयान दिन साइबर ब्युरोमा एमाले नेता बस्नेत



काठमाडौँ । एमाले स्थायी कमिटी सदस्य महेश बस्नेतसँग नेपाल प्रहरीको साइबर ब्युरोले बयान लिएको छ । बुधबार बिहानै साइबर ब्युरो पुगेका बस्नेतसँग प्रहरीले बयान लिइरहेको छ । बस्नेतविरुद्ध शोभा पाठकले साइबर अपराधसम्बन्धी उजुरी दिएकी थिइन्।

विद्युतीय कारोबार ऐन अन्तर्गत शोभा पाठकले दर्ता गरेका जाहेरीबारे बयान दिन बुधवार बस्नेत ब्युरोमा उपस्थित भएका हुन् । उनीसँग ‘बयान कागज’ गर्न सोधपुछ भइरहेको छ । बस्नेतविरुद्धको जोहेरी यसअघि ब्युरोकै आग्रहमा सरकारी वकिल कार्यालयले तामेलीमा राखेको थियो ।

जेनजी प्रदर्शनपछि बस्नेतले पीडितलाई संकेत गरेर महिला केन्द्रित अपशब्द लेखेको र महेश बस्नेत फ्यान क्लबमा पनि पीडितबारे अनर्गल कुराहरू लेखिएको भन्दै सरकारी वकिल कार्यालयले असोज ५ मा ब्युरोलाई निर्देशन दिएको थियो ।

सो निर्देशनपछि प्रहरीले पक्राउ अनुमति मागेपनि मंगलबार काठमाडौँ जिल्ला अदालतले ‘थप प्रमाण’ बुझेर ल्याउन भनेको थियो । बस्नेतले फेसबुकमा पीडितलाई लक्षित गरेर लेखेको शब्द र फ्यान क्लबमा लेखिएको विषयबारे अनुसन्धान अधिकृतहरूले सोधपुछ गरिरहेका छन् ।