बाढी र पहिरोमा क्षति भएका घर पुनर्निर्माण गरिदिने कोशी सरकारको निर्णय

बाढी र पहिरोमा क्षति भएका घर पुनर्निर्माण गरिदिने कोशी सरकारको निर्णय



माेरङ । कोशी प्रदेश सरकारले गएको शुक्रवार र शनिवारको बाढी पहिरोले भत्किएका र बगाएका सबै घर पुनःनिर्माण गरिदिने भएको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी पहिरोमा परेका सबै घर बनाइदिने निर्णय गरेको हो ।

विपद्मा सबैभन्दा धेरै क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन शुरू गर्ने प्रदेश सरकारले जनाएको छ । घरहरूको सम्पूर्ण विवरण सङ्कलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने आजको परिषद् बैठकले निर्णय गरेको छ ।

त्यस्तै बैठकले इलामका ७ वटा पालिकालाई सङ्कटग्रस्त घोषणा गर्नका लागि सङ्घीय सरकारलाई सिफारिश गर्ने निर्णय पनि गरेको छ । प्रदेश सरकारले राहत र पुनर्स्थापनाका लागि इलाम जिल्लामा समन्वय गर्न आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीलाई जिम्मा दिएको छ । यो टोलीले सम्पूर्ण क्षेत्रको स्थलगत निरीक्षण गर्दै पुनर्निर्माणलाई फिल्डमै खटेर तीव्रता दिने छ ।

त्यस्तै सुनसरी जिल्लाको हकमा वन पर्यटन तथा वातावरणमन्त्री सदानन्द मण्डल र आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले समन्वय गरी काम गर्नुहुनेछ । झापा जिल्लाका लागि खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीलाई आवश्यक पुनर्निर्माण र सबै खालको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ ।

बैठकले चालू बजेटका खर्च र योजनाहरु हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिश गर्ने निर्णय पनि गरेको छ । बैठकमा मुख्यमन्त्री कार्कीले पुनर्निर्माण र राहतमा कुनै कसर नराखी काम अगाडि बढाउनका लागि निर्देशन दिएका थिए ।