सरकारबाट बाहिरिए पनि एमाले जनताको हृदयमा छ : शंकर पोखरेल

सरकारबाट बाहिरिए पनि एमाले जनताको हृदयमा छ : शंकर पोखरेल



काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताको मनबाट एमालेलाई कसैले अलग गराउन नसक्ने दाबी गरेका छन् ।

बिहीबार भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा उनले सरकारबाट बाहिरिए पनि एमाले जनताको हृदयमा रहेको बताए ।

“अहिले हामी सरकारबाट बाहिरिएका छौँ । जनताको हृदयमा एमाले छ । जनताको हृदयबाट कसैले अलग गराउन सक्दैन,” उनले भने ।

पोखरेलले जेनजी युवाहरूको क्षतिको भर्पाई एमालेले लिने पनि बताए । “हामी हाम्रा नवयुवाको क्षतिको भर्पाई लिन तयार छौँ । नवयुवाको हत्याका नाममा राष्ट्रविरुद्धको विप्लव गरियो,” उनले भने ।

उनले जनतालाई सत्यतथ्य बताउने र नयाँ विश्वासका साथ संविधानवादको युगतर्फ अघि बढाउन भूमिका खेल्ने भनाइ राखे । उनले दश वर्षको माओवादी द्वन्द्वमा समेत केही नभएको सार्वजनिक सम्पत्ति जलाइएको पनि बताए । दण्ड दिनका लागि नेतृत्व गर्न एमाले तयार रहेको उनको भनाइ छ ।

उनले सरकारले गठन गरेको छानबिन आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पहिलेको अभिव्यक्ति सुन्दा निष्पक्ष छानबिन हुन सक्छ ? भन्ने प्रश्न पनि गरे ।

महासचिव पोखरेलले सडकबाट नभएर वैधानिक विधिबाट पार्टीको नेतृत्व निर्माण हुने बताएका छन् । उनले सडकमा कराएर नहिँड्न नेताहरूलाई निर्देशन दिए ।

“विधान महाधिवेशन सम्पन्न गरेका छौँ । महाधिवेशनको सँघारमा छौँ, कसैलाई लाग्दछ । म पार्टीमा योग्य छु भने महाधिवेशनमा उसले कार्यकर्ताको विश्वास जित्ने प्रणाली छँदै छ । सडकमा कराएर हिँड्न पर्दैन । सडकमा तमासा देखाउनुपर्दैन,” उनले भने ।

उनले आफूलाई योग्य बनाउन कार्यकर्ताको बीचमा जाने अवसर पाउने बताए । उनले संकटका बेला विभाजन नभएर एकताको खाँचो आवश्यक हुनुपर्ने पनि बताए ।