गृहमन्त्रीलाई ओलीको चेतावनी– बाबु धेरै नचम्किनू

गृहमन्त्रीलाई ओलीको चेतावनी– बाबु धेरै नचम्किनू

‘गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग स्वीकार्य छैन’



काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सडकमा तमासा गरिरहेको बताएका छन् । बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले गृहमन्त्रीलाई राजनीति बुझेर चल्न चेतावनी दिएका छन् ।

“गृहमन्त्रीको विषयमा त मैले भएपछि थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहान्छु,” उनले भने, “राजनीति ख्याल ठट्टा होइन । देश चलाउने कुरा ख्याल ठट्टा होइन । यस कुरालाई बुझेर चल्न म सुझाव दिन्छु ।”

अध्यक्ष ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले खास उद्देश्यले काम गरिरहेको आरोप लगाएका छन् । उनले आफूसहितका नेताको पासपोर्ट रोक्ने निर्णय गरेर तमासा गरिएको बताए ।

‘सुशीला कार्कीको डरले केपी ओली गुटुटु भाग्छ ?’ भन्दै उनले प्रश्न गरे । “उहाँ सुरिनुभो । २३ गते जेनजी भनेर उत्रिनुभयो । चुनाव गराउने भन्ने त राष्ट्रपतिले तोकिएको मेन्डेड हो । उहाँहरू के गर्दै हुनुहुन्छ ?,” उनले भने ।

ओलीले आफ्नो सम्पत्ति १० पटक छानबिन गर्न चुनौती दिएका छन् । उनले भने, “एकपल्ट होइन । १० पल्ट गर्नुस् ।”

उनले सरकारका मन्त्रीहरूको सम्पत्ति छानबिनका लागि तयार हो भनी प्रश्न गरे । “मन्त्रीजीहरू, तपाईंको सम्पत्ति छानबिन गराऊँ, आँट गर्नुहुन्छ ?,” उनले प्रश्न गरे ।

अध्यक्ष ओलीले सरकारले बनाएको छानबिन आयोग स्वीकार्य नहुने बताए । उनले गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगको प्रतिवेदन मान्य नहुने बताए ।

“तपाईंहरूले प्रतिवेदन लेख्नुस्, बुझाउनुस् । फैसला गर्नुस् । एमालेलाई मान्य छैन । नेपाली जनतालाई मान्य छैन । हामी मान्दैनौँ । जे जे गर्नु छ गर्नुस्,” उनले चुनौती दिए ।

उनले ओलीलाई थुन्नुपर्छ भन्नेहरूको आयोग बनाएर प्रतिवेदनको नाटक गर्ने भनी प्रश्न पनि गरे ।

ओलीले वर्तमान सरकार संविधान अनुसार नभइ बलमिच्याँइले बनेको दाबी गरेका छन् । उनले शर्त राखेर मात्रै वर्तमान सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएको जिकिर गरे ।

‘अहिले देशको परिस्थिति असाधारण, असामान्य रहेको छ । किनभने देशमा सरकार छ, संविधान अनुसार बनेको छैन । बलमिच्याइँले बनेको सरकार छ,’ ओलीले भनेका छन्, ‘अहिलेको प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो, प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो ।’