संकटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की

संकटको समयमा सबै एक भएर अगाडि बढ्नुको विकल्प छैन : प्रधानमन्त्री कार्की



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार, बेराेजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

बिहिबार भिडियो सन्देश दिँदै उनले गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका पीडितपरिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याएको र उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा रहेको जानकारी पनि दिएकी छन् ।

नेपालका जेनजी युवाले शुरू गरेको राजनीतिक आन्दोलन एक महिना पुगेको अवसरमा सार्वजनिक गरिएको भिडियो सन्देशमा प्रधानमन्त्रीले जेनजीको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसात् गर्न जरुरी रहेको बताएकी छन् ।

प्रधानमन्त्री कार्कीले विगतका सरकारले युवाको आवाज सुन्न नसकेको र उनीहरूको माग सम्बोधन गर्न नसकेको उल्लेख गर्दै सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने बताइन् ।

सरकारले पीडितपरिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याएको जानकारी दिँदै प्रधानमन्त्रीले उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा रहेको बताइन् ।

उनले भ्रष्टाचार, बेराजगारी, विभेदजस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिन् । युवापुस्ताले चाहेको परिवर्तनप्रति आफू प्रतिबद्ध रहेको र नयाँ मार्गमा अघि बढिरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले आउँदो चुनावपछि पनि युवाहरूको माग सम्बोधनका लागि निरन्तर प्रयास हुनुपर्र्नेमा जोड दिइन् ।

जेनजीले उठाएका मागप्रति सबै युवा सचेत हुन जरुरी रहेको र राजनीतिक दलहरूले आफूलाई सुधार गर्नुपर्ने उनको भनाइ छ । सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

उनले सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न अपिल समेत गरिन् । सङ्कटको समयमा सबै एक भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले शहीदहरूको बलिदान खेर जान नदिन सकेसम्मको प्रयास गर्ने बताएकी छन् ।