काठमाडौं । अल्जेरिया आगामी वर्ष उत्तर अमेरिकामा आयोजना हुने फिफा विश्वकपमा छनोट हुने २०औँ टिम बनेको छ ।
बिहीबार मिलौद हदेफी रंगशालामा भएको अफ्रिकन छनोट अन्तर्गतको खेलमा घरेलु टोली सोमालियावरुद्ध ३–० को सहज जित निकाल्दै अल्जेरियाले पाँचौँपटक विश्वकप यात्रा तय गरेको हो ।
यसअघि अल्जेरियाले १९८२, १९८६, २०१० र २०१४ मा विश्वकप खेलेको थियो । अल्जेरिया आगामी विश्वकपका लागि छनोट हुने चौथो अफ्रिकन तथा समग्रमा २०औँ राष्ट्र हो ।
अल्जेरिया छनोट प्रतियोगितामार्फत छनोट हुने १७औँ टिम बनेको हो । विश्वकपका आयोजक रहेका अमेरिका, मेक्सिको र क्यानडाले सोझै स्थान बनाएका थिए ।
यसअघि अफ्रिकाबाट मोरक्को, ट्युनिसिया र इजिप्ट विश्वकपमा छनोट भएका थिए । एसियाबाट अस्ट्रेलिया, जापान, दक्षिण कोरिया, जोर्डन, उज्वेकिस्तान र इरान दक्षिण अमेरिकाबाट अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इक्वेडर, उरुग्वे र पाराग्वे तथा ओसियन प्यासिफिकबाट न्युजिल्यान्डले छनोट चारण पार गरेर विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।
४८ टोलीको सहभागिता रहने फिफा विश्वकप आगामी जुन ११ देखि जुलाई १९ सम्म हुँदैछ ।


प्रतिक्रिया