इतिहासकै ठूलो वैदेशिक हस्तक्षेप महसुस गरिरहेका छौं : प्रचण्ड

इतिहासकै ठूलो वैदेशिक हस्तक्षेप महसुस गरिरहेका छौं : प्रचण्ड

‘वर्तमान संविधानले काम गर्दैन, परिमार्जन गरौं’



काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इतिहासकै ठुलो वैदेशिक हस्तक्षेपको महसुस गरिरहेको बताएका छन् ।

काठमाडौंमा सम्पादकहरूसँगको संवादमा प्रचण्डले अहिले देश अप्ठ्यारो अवस्थामा रहेको बताए । ‘राष्ट्रिय स्वाधिनतामा यति ठूलो हस्तक्षेप, स्वाधिनताको विषय पहिले थिएन,’ उनले भने, ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती पहिले कमै थियो ।’

उनले राजनीतिक संकट पनि कायमै रहेको बताए ।

उनले भने, ‘सबै राजनीतिक दल नागरिक समाज, प्रेस जगत् सबै हिजो राजनीतिक परिवर्तनको निम्ति एक भएर आवाज उठाएका थियौँ । त्यसबाट संविधान सभा हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ प्रक्रियामा हामी आएका थियौँ । आज फेरि गम्भीर विचार विमर्शसहित देशको राष्ट्रियता, स्वाधीनता र स्वतन्त्रताको रक्षाको लागि एक हुनुपर्ने आवश्यकता उत्पन्न भएको छ ।’

विगतको समीक्षा र आगामी बाटोको विषयमा बहस र छलफल गरेर साझा निष्कर्ष निकाल्नुपर्नेमा प्रचण्डले जोड दिए ।

प्रचण्डले वर्तमान संविधानले अहिलेकै रुपमा काम नगर्ने भन्दै संशोधनसहितको परिमार्जन गर्ने प्रस्ताव गरेका छन् । उनले यसका लागि राष्ट्रिय सहमति आवश्यक भएको जिकिर गरे ।

‘यो संविधानले अहिलेकै रुपमा काम गर्दैन, संशोधन/परिमार्जन गरौं,’ प्रचण्डले भनेका छन्, ‘जसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।’

प्रचण्डले जेनजी आन्दोलनपछि पनि हिजो सत्तामा रहेकाहरूको अहंकार अझै नगएको देख्दा दुख लागेको बताए । उनले एमालेका अध्यक्ष केपी ओलीलाई सङ्केत गर्दै अझै सत्तामा हुँदाजस्तै अहंकार देखाएको बताए ।

उनले भने, ‘हिजो सत्ताको नेतृत्व गर्ने पार्टीका साथीहरूको अहंकार अझै गएको छैन । जनताको भावना र आवश्यकतालाई भन्दा आफ्नो मनोगत अहंकार नै आत्मरति गर्ने प्रवृत्ति अझै पनि देखिनु यो देशका लागि कम दुर्भाग्य होइन ।’

उनले यो घटनापछि आफूहरूले जेनजी युवाहरूको मागलाई सम्बोधन गर्ने गरी पार्टीले मार्गचित्र तय गरेको पनि बताए । जेनजीहरूको मागमा माओवादीले समर्थन गरेको बताए ।