काठमाडौं । नेकपा एमालेले सुशीला कार्की नेतृत्वको वर्तमान सरकार निषेधको बाटोतर्फ अग्रसर भएको बताएको छ ।
शुक्रबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकपश्चात् सञ्चारकर्मीसमक्ष उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले राष्ट्रिय एकताका लागि दलहरूलाई साथमा लिनुपर्नेमा त्यस्ताे नगरी निषेधकाे बाटाेतर्फ अघि बढेकाे बताएका हुन् ।
सरकार निर्वाचन गराउने बाटोमा नभई मुलुकलाई अनावश्यक तिक्तता र मुठभेडतिर लैजान उद्धत देखिएको उनको भनाई छ । ‘सरकार दलहरूलाई साथ लिने भन्दा पनि निषेधको बाटोमा हिँडिरहेको छ,’ ज्ञवालीले भने ।
‘इतिहासमा स्थापित दलहरूलाई इन्कार गर्ने बाटोमा नजानुहोला । त्यो पार लाग्ने बाटो पनि होइन । त्यसले हामीलाई कहीँ पुर्याउँदा पनि पुर्याउँदैन,’ ज्ञवालीले भने ।
उनले आफूहरू मित्रवत् हिसाबले अघि बढ्ने पनि जिकिर गरे ।
एमालेले जेनजी पुस्ताका युवाले राखेका आवाज सही हुँदाहुँदै घुसपैठियाले हिंसा मच्चाएर देशको इतिहास नै मेटाउने प्रयास गरेको ठहर गरेको छ । उपमहासचिव ज्ञवालीले जेनजी आन्दोलनमा भएको घुसपैठ र हिंसाका घटनाको छानविन हुनुपर्ने बताए ।
ज्ञवालीले भने–जेनजीले भदौ २३ गते राखेका आवाज स्वभाविक थिए, आन्दोलन शान्तिपूर्ण हुन्छ, निषेधित क्षेत्र तोड्दैनौं भनेका थिए । तर घुसपैठियाले हिंसा मच्चाए,त्यसको छानविन हुनुपर्छ भन्ने हाम्रो निष्कर्ष हो । २४ गते भएको सामान्य घटना होइन,सत्य ततथ्य छानविन र कारवाही गरिनुपर्छ ।
सरकार निर्वाचन गराउनतिर नभई पार्टीहरुलाई रोक लगाउने, नेताहरुलाई स्थानहद तोक्ने र प्रहरी हत्या तथा लुटपाट गर्नेहरुलाई गृहमन्त्रीको आदेशमा छाड्ने काममा लागेका ज्ञवालीले बताए ।
ज्ञवालीले बैठकमा नेतृत्व पुस्तान्तरण, हस्तान्तरण वा पुनर्गठनका विषयमा कुराहरु भएको र त्यसको टुंगो महाधिवेशनले लगाउने बताए । शनिवार बस्ने बैठकमा महाधिवेशनको प्रस्ताव गरिने समेत ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया