काठमाडाैं । नेकपा एमालेले मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय गरेकाे छ । आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै बैठकले प्रतिनिधिसभा पुनस्थापन हुनुपर्ने माग गरेको नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बताए । उनले सरकार मुठभेडको बाटातर्फ अघि बढिरहेको बताए । सबैलाई एकताबद्ध भएर अघि बढ्न समेत आग्रह गरिएको ज्ञवालीले बताए ।
‘सरकार चुनाव गराउने बाटोमा छैन, सरकार चुनावका लागि तयारी नै छैन । प्रहरी चौकी लुट्नेहरूलाई कारबाही भएन, जेल तोडेर कैदीहरू बाहिर बसेका छन् । चौकीहरू पुनस्थापना भएको छैन’ कसरी चुनाव हुनसक्छ ?’ उनले भने–‘केन्द्रीय बैठक २९, ३० र ३१ गते बस्नेछ त्यसमा हामीले लगेका एजेन्डामा छलफल हुनेछ चुनावको पूर्वतयारी नै भएको छैन, दलहरूलाई धम्काएर निर्वाचन कसरी हुन्छ ? निर्वाचनको आत्मा मरिरहेको छ कसरी हुन्छ चुनाव ? अहिलेका गतिविधि चुनाव लक्षित छैन ।’
नेता ज्ञवालीले संसद् पुनः स्थापनाबाट नै अहिलेको समस्याको निकास दिने जनाए । पार्टी अध्यक्ष केपी ओलीको राजीनामा मागबारे अनावश्यक विषय बाहिर आएको दाबी उनको थियो ।
उनले भने, ‘मिडिया मोनुपुलेट भयो, दुई दिनमा कित्ताकाटका धेरै कुरा आए तर त्यसो होइन । नेतृत्वको विषयमा छलफल भएको हो, मन माझामाझ भएको हो, सबैले खुलेर कुरा गर्नुभएको छ, जीवन्त छलफल भएको छ, हामी महाधिवेशनमा जान्छौँ, प्रतिगमनविरुद्धको साझा निचोड आएको छ । ’


प्रतिक्रिया