हामीमाथि घृणित दुर्व्यवहार भयो : देउवा (पूर्णपाठ)

हामीमाथि घृणित दुर्व्यवहार भयो : देउवा (पूर्णपाठ)



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुमाथि भदौ २४ गते घृणितरुपमा दुर्व्यवहार भएको बताएका छन् ।

उनी पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा पुगेर पहिलोपटक सार्वजनिक भएका हुन् । सो क्रममा देउवाले केन्द्रीय समिति बैठकमा सम्बोधन पनि गरेका छन् ।

उनले निकै लामो समयपछि सुरक्षाकर्मीले आफूहरुलाई उद्धार गरेको उल्लेख गर्दै त्यसपछि पनि प्रतीष्ठामा आँच पुर्‍याउन दुर्व्यवहार गरिएको बताए ।

“हामीमाथि घृणितरुपमा दुर्व्यवहार भयो, । घण्टौँपछि सुरक्षाकर्मीबाट उद्धार गरियो,” देउवाको भनाइ थियो, “त्यसपछि पनि हाम्रो सामाजिक प्रतीष्ठामा आँच पुर्‍याउन दुष्प्रचार गरियो । भ्रष्टाचारविरुद्ध भनेर नारा दिएको छ । किसुनजीको आश्रम, गणेशमानको निवास र कृष्णप्रसाद कोइरालाको निवास जलाइएको छ । कांग्रेसका नेताको घर जलाइएको छ । आतंकित हुने होइन एक हुने बेला हो ।”

सम्बोधनका क्रममा उनले गत २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरे ।