मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य सिंहलाई मुद्दा दर्ता गर्नुअघि अख्तियारको टोलीले पक्राउ पनि गरेको छ ।

भ्रष्टाचारको मुद्दा लाग्नेहरूमा सिंहसहित रमेश मडर, अमलेश कुमारी, दीपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भूपेन्द्रकुमार झा, मञ्जुदेवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी, रामशरण खत्वे, बिभादेवी खत्वे, शम्भुकुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुनाप्रसाद महतो र कौशिल्या देवी रहेका छन् ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार प्रदेशसभा सदस्य सिंहले सांसद विकास कोषको रकमबाट आयोजना अनुसार १२ देखि ४० प्रतिशतसम्म कमिसन आफ्नो खातामा हालेको पाइएको छ ।

सिंहले विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कुल रकम १ करोड ३६ लाख २७ हजार ४ सय ८१ रुपैयाँमध्ये ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ घुस स्वरूप लिएर आफ्नो र श्रीमतीको संयुक्त खातामा राखेको पुष्टि भएको छ ।

यस्तै केही रकम सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थको खातामा हालेको पाइएको छ । आयोगले बिगो र कानून अनुसार थप सजायको माग गरेको छ ।