बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतले हैजाविरुद्धको खोप लिए

बारा र पर्सामा लक्षित जनसङ्ख्याको ७१ प्रतिशतले हैजाविरुद्धको खोप लिए



बारा । बारा र पर्सामा कुल जनसङ्ख्याको ७१ प्रतिशतलाई हैजाविरुद्धको खोप खुवाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार बारा र पर्सा दुवै जिल्लाको १० लाख १८ हजार ६० लक्षित जनसङ्ख्यामध्ये सात लाख २३ हजार आठ सय ३६ जनाले खोप लिइसकेका हुन् ।

खोप शाखाले उपलब्ध गराएको विवरण अनुसार हैजा रोगविरुद्धको खोप अभियानको प्रारम्भिक तथ्याङ्कमा पर्सामा अभियान शुरू भएको छैटाैं दिनमा चार लाख ५६ हजार सात सय ७८ जनाले खोप लिइसकेका छन् । पर्सामा लक्षित जनसङ्ख्या ६ लाख ५२ हजार एक सय २९ जना छ ।

यसैगरी बारामा तीन लाख ६५ हजार नाै सय ३१ लक्षित जनसङ्ख्यामध्ये दुई लाख ६७ हजार ५८ जनाले खोप लिइसकेका छन् ।

हैजा महामारीको प्रतिकार्य स्वरूप पर्साका सबै पालिकामा असोज २६ गतेदेखि र पर्सासँग सिमाना जोडिएका बाराका ६ वटा पालिकामा असोज २७ गतेदेखि हैजाविरुद्धको खोप अभियान चलिरहेको हो । खोप अभियान भोलिसम्म चल्ने डा. गौतमले जानकारी दिए ।